aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

ड्राइभरको दुर्घटनापछि रविको आग्रह: ‘संवेदनशील घडीमा मौका नछुप्नु होला’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ बैशाख २०८०
ड्राइभरको दुर्घटनापछि रविको आग्रह: ‘संवेदनशील घडीमा मौका नछुप्नु होला’

काठमाडौं । आफ्ना सवारी चालकको दुर्घटनाको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावुक विचार सार्वजनिक गरेका छन् । सोमबार बिहान चालक शम्भु भनिने दिल बहादुर थापा लामिछानेको घरको छतबाट खसेर गम्भीर घाइते भएका छन् ।  

लामिछानेले सो घटनालाई राजनीतिकरण गर्ने र विषयान्तर गर्दै चुनावी मसला बनाउने विपक्षीहरूको सम्भावित चाललाई रोक्न एक भावुक तर तिखो स्ट्याटस सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । जहाँ उनले भनेका छन्, ‘आज बिहान  प्रिय  शम्भु भाइ( मेरो गाडी चालक) छतबाट खसेर दुर्घटनामा पर्नु भयो । पुरानो मेडिकल कलेजमा उहाँ उपचाररत हुनुहुन्छ ।’

उनको उपचार भइरहेको र स्वास्थ्यमा क्रमिक सुधार रहेको जनाउँदै उनले लेखेका छन्, ‘बिहानै देखि निरन्तर र भरखरै पनि  मैले चिकित्सकसँग परामर्श गरे अनुसार  भगवानको कृपाले उहाँको स्वास्थ्य अवस्था बिहानको भन्दा सुधारिएको छ,स्थिर  छ ।’

घटनाबारे विभिन्न प्रकारका टिप्पणीहरू सामाजिक सञ्जालहरूमा देखा पर्न थालेपछि सो को प्रतिक्रिया दिँदै उनले थप अगाडी लेखेका छन्, ‘प्रहरी पनि अनुसन्धानमा छ। यस्तो बेला यो भन्दा धेरै म सँग तपाईँलाई भन्ने कुनै शब्दै छैन । म नेता भन्दा पहिले मानिस हुँ ।  पनि थाक्छु, गल्छु । मेरा आँखामा पनि आशु आउँछन्। बिन्ती छ,यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला ।’

घटनालाई राजनीतिकरण गर्ने र चुनावी माहौलमा आफ्नो लाभको विषय बनाउने सम्भावनातर्फ इंकित गर्दै उनले भनेका छन्, ‘स्तर हीन बनेर राजनीतिकरण नगर्नु होला। सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शय्यामा सङ्घर्ष गरिरहेको छ । उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला । राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडीमा मौका नछुप्नु होला ।’ 

 

प्रतिक्रिया दिनुहोस