aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

हराएका २१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ बैशाख २०८०
हराएका २१ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं । विभिन्न मितिमा हराएका २१ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथ स्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज एक कार्यक्रम गरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १४  ओटा मोटरसाइकल र ७ ओटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका ३६३ ओटा सवारी साधन चालु आर्थिक वर्षमा ट्राफिक प्रहरीले धनिलाई जिम्मा लगाइसकेको छ । धनि नखुलेका ९५ वटा सवारी साधन भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताउनु भएको छ ।  

चालु आर्थिक वर्षमै २७ ओटा चोरीका २ पाङ्ग्रे सवारी साधन सहित ३१ जनालाई कारबाहीका लागि विभिन्न प्रहरी परिसर र प्रहरी वृत्तमा पठाइएको छ । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको छ । यसमा स्वयम् सवारी धनी पनि बिशेष चनाखोका साथै सजक हुनुपर्ने र सवारी चालक थप जिम्मेवार बनि सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक गर्नु पर्ने हुन्छ । 

सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्न साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टको अनुरोध छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

प्रतिक्रिया दिनुहोस