काठमाडौं । अमेरिका र पोर्चुगल लगायतका विभिन्न देशमा पठाईदिन्छु भन्दै करिब ४ करोड ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिका बहादुर भण्डारी र उज्वल खड्का रहेका छन् ।
पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ६ पाखरटोल घर भई हाल काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने २३ वर्षीय टिका बहादुर भण्डारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु, पोर्चुगल पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी प्रलोभनमा पारी १० जना पीडितहरूबाट १५ लाख रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका १३ ताहाचलबाट पक्राउ गरेको हो ।
त्यस्तै, अमेरिका लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका १ लोकन्थली बस्ने ४४ वर्षीय उज्वल खड्कालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा पुगेपछि प्रतिष्ठित कम्पनीहरूमा काम लगाइदिन्छु, मासिक ४ लाख तलब हुन्छ भन्दै प्रलोभनमा पारी २० जना पीडितहरूबाट पटकपटक गरी ३ करोड ५६ लाख ८ हजार रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
खड्कालाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई रौतहट चन्द्रपुर नगरपालिका ४ चपुरबाट पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाईएको पहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस