काठमाडौं । आइटि, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायकहरूको बृहत् फुटसल कार्यक्रम यही वैशाख ९ गतेदेखि हुने भएको छ । डिजिटल प्रणालीका सेवाप्रदायकहरू एकजुट हुने यो बृहत् कार्यक्रम मैत्रीपूर्ण प्रतिस्पर्दा ‘म सतर्क छु’ नामक डिजिटल ठगी विरूद्धको अभियानको एक कार्यक्रम पनि हो ।
यस फुट–टेक फुटसल २०२३ प्रतियोगितामा देशका अग्रणी आइटि, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक कम्पनीहरू एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । यस कार्यक्रमको उद्देश्य उद्योग व्यवसायीहरूबीच सहकार्य, सोहार्दता, तथा स्वस्थ प्रतिस्पर्धाको प्रवद्र्धन गर्ने नै हो ।
यो फुटसल प्रतियोगिता १ महिना नै चल्नेछ भने आगामी जेठ महिनामा यो प्रतियोगिताको फाइनल खेल खेलिनेछ । यो फुटसल प्रतियोगिता एउटा खेलकुदको बृहत् कार्यक्रममात्र नभई डिजिटल ठगी र यो डिजिटल युगमा आफ्नो पहिचान तथा जानकारी सुरक्षित राख्नुपर्ने सचेतता प्रवर्धन गर्ने म सतर्क छ भन्ने सन्देशसहितको अभ्यास पनि हो ।
‘म सतर्क छु’ अभियान डिजिटल ठगीका विभिन्न रूपहरू जस्तै फिसिङ, पहिचान चोरी तथा अन्य अनलाइन घोटालाहरूबारे मानिसहरूलाई जानकारी गराउने पहल हो । यस अभियानले आइटि, प्रविधि तथा डिजिटल प्रणालीका सेवाप्रदायक उद्योगले सबैका लागि सुरक्षित अनलाइन वातावरण सिर्जना गर्ने आशा राखेको छ ।
फुट–टेक फुटसल प्रतियोगिता २०२३ बाहेक ‘म सतर्क छु’ अभियानले वर्षभरि विभिन्न कार्यक्रमहरू र सचेतनामूलक कार्यक्रमहरू प्रस्तुत गर्नेछ । यी कार्यक्रमहरूको उद्देश्य साइबर सुरक्षाको महत्त्व बारे मानिसहरूलाई शिक्षित गर्ने र सुरक्षित अनलाइन अभ्यासहरूलाई बढावा दिने बारे रहनेछ । अभियानले मानिसहरूलाई डिजिटल ठगीबाट आफुलाई बचाउनका लागि स्रोतहरू पनि उपलब्ध गराउनेछ ।
प्रतिक्रिया दिनुहोस