aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

समोसा बेचेर जीवन चलाउँदै शिवलाल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
समोसा बेचेर जीवन चलाउँदै शिवलाल

भजनी । कैलालीको टीकापुर नगरपालिका–१ का शिवलाल चौधरी टीकापुर क्षेत्रका लागि निकै परिचित नाम हो । उनको नामभन्दा बढी परिचित समोसा र समोसा बनाउने  ठेला छ । बीस वर्षदेखि त्यहीँ ठेला, त्यहीँ समोसाको स्वाद जुन अझै उस्तै छ । त्योभन्दा अनौठो कुरा समोसा बेचेर परिवर्तन भएको उनको जीवनशैली र पूरा भएको सपना ।

अन्यका घरमा कमैया गरेर जीविका चलाउँदै आएका शिवलालको सपना थियो एउटा आफ्नै घर बनाएर  बस्ने । कमैया भएर अरूको घरमा काम गर्दाको पीडाभन्दा साहुका बोली वचन र परिवारको स्थिति देखेर सधैं चिन्तामा हुने शिवलाल छोराहरुको भविष्य बनाउनका लागि त्यहाँबाट बाहिर निस्किए ।

त्यही सपनाले कुनै दिन कमैयाको काम छोडेर सडक किनारमा बदाम बेच्न सुरु गरेका उनले बदाम नहुने याममा तरकारी व्यापार गर्दै सपनालाई साकार बनाउनतिर लागे । “चारजनाको परिवार, छोराहरू सानै, साहुको घर छोडेर भाडाको बसाइ हाम्रा लागि निकै महँगो भयो”, शिवलाल भन्छन्, “के खाने भन्ने थियो । त्योभन्दा बढी चिन्ता घरको भाडा तिर्न हुन्थ्यो । त्यो बेलाको दुःख सम्झियो भने अझै विरक्त लागेर आउँछ । मनमा निकै पीडा महसुस हुन्छ ।”

अहिले शिवलालको जीवनी निकै फेरिएको छ । उनले अन्तिम व्यापारका रुपमा एउटा ठेलामा समोसा बनाएर बेच्न सुरु गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन । समोसा बेचेरै उनले जग्गा खरिद गरे । एउटा सुन्दर घर पनि बनाए । समोसासँगै अन्य फास्टफुडका परिकार पनि थप्दै गए ।  तर शिवलालको समोसा जति परिचित अरू परिकार बन्न सकेनन् ।

त्यतिमात्र होइन दुई छोराहरूलाई पनि व्यापारमा लगानी लगाए । “कमाई कति गरे त्यो कुनै लेखाजोखा केही छैन । समोसा बेचेरै मैले आफ्ना सपना पूरा गरेको छु”, उनी भन्छन्, “दुवै छोरा व्यापार गर्छन् । अहिले सबै आ–आफ्नो कमाएर खाने स्थितिमा पुगेका छौँ ।

शिवलालले समोसा बेच्न सुरु गर्नुभयो त्यो बेला दुई समोसाको पाँच रुपैयाँ पर्थो। अहिले समय निकै बदलिएको छ । तत्कालीन समयमा पाँचका दुई समोसा बेच्ने उहाँ अहिले रु २० को एउटा समोसा बेच्छन् । ग्राहकको कमी छैन । दैनिक सातदेखि १० हजारसम्मको पनि व्यापार हुन्छ । राम्रो आम्दानी गर्दै आउनुभएका शिवलालको सफलतमा उहाँकी श्रीमती  राजकुमारी  ठूलो देन छ ।

शिवलालले गरेका हरेक सङ्घर्षमा सँगसँगै हिँडेकी राजकुमारी नै आफ्नो प्रेरणा भएको उनी बताउँछन् । “मैले व्यापार गर्दादेखि आजसम्म श्रीमान्/श्रीमती  छुटिनुपरेको छैन । श्रीमतीले समोसा बनाउने काम गर्छिन् । म पकाउने र बिक्री गर्ने”, शिवलालले भने,“साथमा सहयोगी राम्रो भयो भने पनि मान्छे विचलित नहुँदो रहेछ ।”

शिवलालले छोराहरूलाई पनि राम्रो शिक्षा दिएर दक्ष बनाउने अर्को सपना थियो । त्यो सपना भने पूरा हुन नसकेको उनी बताउँछन् । छोराहरूले सीप सिकेर आफैँ स्वरोजगार बनेकामा भने गर्व छ । उनको जेठो छोरा मोटरसाइकल मर्मतसम्भारको ग्यारेज खोलेर बसेका छन् भने कान्छो छोरा काठमाडौँमा व्यापार गर्छन् ।

उनी पैसाकै लागि विदेश जानु मूर्खता भन्नुन्छन्, ।कामको सम्मान गर्न सिकेको मान्छेले विदेसिनु नपर्ने उनको भनाइ छ । “विदेशमा जस्तो पनि काम गर्न सक्ने मान्छे समाजमा काम गर्न लाज मान्छ । समाजका अगाडि आदर्श बनेको हाम्रो बानीले हाम्रो नियत बिगारेको छ”, उनी भन्छन्, “नभए यतै पनि कमाई राम्रो छ । महिनाभरि काम गरेर विदेश कमाउने पैसा त्यति मिहेनत स्वदेशमा गरे कमाउन गाह्रो छैन । किन विदेश जानुपर्यो ?”

प्रतिक्रिया दिनुहोस