aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ बैशाख २०८०
पाँच हजार मिटर उचाइमा खानेपानीको सर्वेक्षण

मनाङ । हिमाली जिल्ला मनाङमा खानेपानीको मुहान सर्वेक्षण गरिएको छ । नासोँ गाउँपालिका ६ र ७ नम्बर वडाको तिल्चेअन्तर्गत मनास्लु पदमार्गका लार्के पास, लार्के फेदी, भिमथाङ क्षेत्रमा खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले सर्वेक्षण गरिएको हो । 

उक्त पदमार्गअन्तर्गत पाँच हजार एक सय १६ मिटर उचाइ हुँदै लार्के फेदी चार हजार चार सय मिटर भिमथाङ उचाइमा खानेपानीको मुहान सर्वेक्षण गरिएको नासों गाउँपालिकाका प्राविधिक टोलीले जनाएको छ । यस क्षेत्रमा पर्यटक आवागमनको क्रममा खानेपानी सुविधा सहज बनाउने उद्देश्यले पानीको मुहान सर्वेक्षण गरिएको हो ।

पालिकाका इन्जिनियर नवीन जोशी, प्रशासकीय अधिकृत गिमानसिंह मगर, सब–इन्जिनियर समीक्षा पौडेललगायतको टोलीले नासोँ गाउँपालिका–६ र ७ नम्बर वडाका विभिन्न स्थानमा सर्वेक्षणका लागि गएका थिए । प्रतिकूल मौसमका बाबजुद पनि पानीको मुहान सर्वेक्षण गरिएको गाउँपालिकाका इन्जिनियर नवीन जोशीले बताए । 

यस क्षेत्रमा खानेपानी व्यवस्थापनले स्थानीयवासी, आन्तरिक तथा बाह्य पर्यटकलगायत जनावरलाई पानीको व्यवस्थापन हुनेछ । “हिमपात, चिसो मौसममा पनि खानेपानीको व्यवस्थापन गर्ने उद्देश्यले पालिकाले यस पदमार्गअन्तर्गत पानीको मुहान खोजिएको हो”, उनले भने । 

प्रतिक्रिया दिनुहोस