काठमाडौं । वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर गत चैत्र २४ गते एचईपीए फिल्टरबाट बनेको एक जोडी कृत्रिम फोक्सो मन्त्रालयको मुलद्वारमा जडान गर्यो । काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदूषणको कारणले उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ ।
यसले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको छ । छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसरमा जडान गरिएको उक्त कृत्रिम फोक्सो पृथ्वी दिवसको अवसरमा त्यहाँबाट सारेर यो पन्ध्र दिनमा आएको परिवर्तनलाई तस्विरका माध्यमले बुझाउन विभिन्न स्थानमा जनचेतनामुलक अभियानका लागि प्रयोगमा ल्याउने योजना बनाएको छ ।
यसका लागि शुक्रबार काठमाडौंका सामुदायिक विद्यालयका विद्यार्थीहरूले वायु प्रदूषणले फोक्सोमा पार्ने असरबारे जानकारी दिन र परीक्षणद्वारा उनीहरुको फोक्सोको जाँच गरी सचेतना सम्बन्धि एक कार्यक्रमको आयोजना गरी उक्त कृत्रिम फोक्सो जडान गरिएको स्थानबाट निकालिएको छ । नेपालमा वायु प्रदुषणको मुख्य कारणमा सवारी साधनबाट निस्कने धुवाँ, धुलो, औद्योगिक कल कारखानाबाट हुने उत्सर्जन, जंगलमा लाग्ने डढेलोको साथै घर, रेष्टुरेन्ट तथा होटल व्यवसायबाट हुने उत्सर्जन र उर्जाका रूपमा काठ, दाउरा, कोइला, ब्रिकेटको आदिको प्रयोग रहेका छन् ।
प्रदुषित वायुमा कार्बन मोनोअक्साइड, ओजोन, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड जस्ता हानिकारक सूक्ष्म कण समेत समावेश हुन्छन् । वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याहरुका साथै हृदयघात, मतिष्कघात, आँखा, छाला सम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकहरु मध्ये एक रहेको छ ।
प्रदुषित वायुले सबै उमेर समुह र बर्गलाई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकोले वायु प्रदुषणले उनीहरुको फोक्सोमा बढी प्रभाव पार्छ । वायु प्रदूषणको नकारात्मक प्रभावहरूबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई वचाउन ठोस कदम चाल्न पर्ने हुन्छ । तत्काल यसका लागि मास्क लगाउने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहने, विद्युतीय धुलो र सवारी साधनको प्रयोग गर्ने, फोहोर नजलाउने जस्ता कार्य गर्नुपर्ने हुन्छ । दीर्घकालिन रुपमा व्यवस्थित शहरीकरण, नविकरणिय उर्जा प्रयोग, रुख विरुवा लगाउने जस्ता कार्य गरी वायु प्रदूषण कम गर्न सकिन्छ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा फोक्सो राखिएको र पृथ्वी दिवसको अवसरमा यसलाई निकालि जनस्वास्थ्य र पृथ्वीबीचको घनिष्ठ सम्बन्ध रहेको सङ्केत गर्न खोजिएको हो । स्वास्थ्यमा वायु प्रदूषणको प्रभावबारे सचेतना अभिवृद्धिका लागि प्रभावकारी कार्य गर्न सबै सरोकारवालाहरूको निरन्तर समन्वय र सहकार्य आवश्यक छ । वायु प्रदुषणका कारकहरुलाई न्युन गर्न सम्बन्धित सबैमा र प्रदूषणबाट बच्न मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस