काठमाडौं । केही दिनअघि नेपाली सञ्चार माध्यमहरूमा छाएको एउटा समाचारले मुलुकलाई निकै क्षति पुगेको छ । ‘काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित सहरको पहिलो नम्बरमा’ भन्ने जस्ता समाचार शीर्षकहरूले सर्वसाधारणलाई मात्रै अत्त्याएन देशका नीति निर्माताहरूको पनि टाउको देखायो ।
अहिले त्यो समाचारको सत्यतामाथि प्रश्न उठिरहेको छ । सो समाचारको खण्डन गर्न शुक्रबार वातावरण विभागले पत्रकार सम्मेलन नै आयोजना गर्यो । जहाँ सरकारी अधिकारीहरूले भने समाचारहरूमा बताइएजस्तो अत्यधिक प्रदूषित सहरको पहिलो नम्बरमा काठमाडौं पुगिनसकेको बताए ।
तर, उता शुक्रबार नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्ति पढ्दा भने मन आत्तिने स्थिति छ । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने असरबारे जनचेतना जगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विश्व स्वास्थ्य दिवसको अवसर पारेर गत चैत्र २४ गते HEPA फिल्टरबाट बनेको एक जोडी कृत्रिम फोक्सो मन्त्रालयको मुलद्वारमा जडान गरेको थियो । काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदूषणको कारणले उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । यसले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको छ ।’
मन्त्रालयले यस प्रकारको प्रदूषणबाट वायु प्रदूषणले श्वासप्रश्वास सम्बन्धी स्वास्थ्य समस्याहरूका साथै हृदयाघात, मतिष्कघात, आँखा, छाला सम्बन्धी रोग र क्यान्सर समेत निम्त्याउने गरेको छ । वायु प्रदूषण मृत्युको प्रमुख कारकहरू मध्ये एक रहेको छ ।
प्रदूषित वायुले सबै उमेर समूह र बर्गल्याई प्रभावित गर्ने भए पनि बालबालिकाको फोक्सो विकसित भई नसकेकोले वायु प्रदूषणले उनीहरूको फोक्सोमा बढी प्रभाव पार्छ । वायु प्रदूषणको नकारात्मक प्रभावहरूबारे चेतना जगाउन र जनमानसमा वायु प्रदूषणबाट आफूलाई बचाउन ठोस कदम चाल्न पर्ने हुन्छ ।
यसरी स्वास्थ्य मन्त्रालयले स्थिति जटिल भनिरहँदा वातावरण विभाग भने त्यसलाई स्वीकार गरिरहेको देखिँदैन । वातावरण विभागका प्रवक्ता शंकरप्रसाद पौडेल भन्छन्, ‘अहिलेको अवस्था बाहिर हल्ला भएजस्तो जटिल होइन । लगभग दुई सयको हाराहारीमा वायु प्रदूषण इन्डेक्स पुगेको हो । त्यो नेपालमा केही लामो समयदेखि चलिरहेको छ ।’
आफ्नो तर्कलाई पुष्टि गर्न उनी अगाडी थप्छन्, ‘बरु चार÷पाँच वर्ष अगाडी चार सयसम्म इन्डेक्स पुगेको थियो । तीन सय भन्दा माथि भएमा निकै खतरनाक मानिन्छ । जबकि अहिले दुई सयको हाराहारीमा मात्रै छ ।’
पछिल्ला दिनहरूका समाचारहरूको समेत उनले खण्डन गरेका छन् । पौडेलले भने, ‘कसले, किन र कुन उद्देश्यले त्यस्तो समाचार छाप्यो, छपायो, प्रचार गर्यो थाहा छैन । काठमाडौं सहर विश्वकै सबैभन्दा बढी प्रदूषित सहर बनेको भने होइन ।’
हुन पनि काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा पुगेको हल्लाले नेपालको पर्यटन व्यवसायमा नै निकै असर पारेको छ । विदेशी पर्यटकहरू नेपाल आउने आफ्ना कार्यक्रमलाई स्थगित गरिरहेका छन् भने यो बेला निकै नै चलायमान बन्ने आन्तरिक पर्यटन पनि वातावरण प्रदूषणको हल्ला र चर्चाले सुस्ताएको छ ।
पौडेलले भनेझैँ काठमाडौं विश्वकै सर्वाधिक प्रदूषित बनेकै होइन भने यस्तो हल्ला गर्ने र राष्ट्रिय/अन्तराष्ट्रिरुपमा मुलुकको छविमा असर पार्ने काम निन्दनीय नै हो । नेपालमा चलेको यो हल्लालाई छिमेकी भारतीय सञ्चार माध्यमहरूले प्राथमिकताका साथ प्रकाशन÷प्रसारण गर्दा तिर्थलम्बीका रूपमा काठमाडौं आउने भारतीयहरूको सङ्ख्या समेत गिरावट आएको पर्यटन व्यवसायीहरूको गुनासो छ ।
के भन्छन् वातावरणविद् ?
तापक्रम वृद्धि र वन डढेलोका घटनाले काठमाडौंसहित देशभर वायु प्रदूषणसमेत बढेको विज्ञहरूको भनाइ छ । वातावरणविद् नवराज पोखरेलले देशभरका वनमा डढेलो लागेका कारण प्रदूषण अत्याधिक बढेको बताए । उनी भन्छन्, ‘देशभरका जङ्गलमा डढेलो लागेको छ । त्यो पनि तीन/चार ठाउँमा लागेको छ । यसले गर्दा काठमाडौंको आकाशमा बाक्लो तुवाँलो लागेको छ । जबसम्म ठुलो पानी पर्दैन वा हुरी चल्दैन काठमाडौंको प्रदूषण घट्दैन ।’
उनका अनुसार वातावरणीय प्रदूषणले गर्दा बालबालिका र वृद्ध वृद्धमा श्वासप्रश्वास सम्बन्धी जटिल समस्याहरू देखा पर्न सक्छ । सबै उमेर समूहका मानिसहरूको मुटुमा यसले दीर्घकालीन असर पार्छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रकाशित गरेको एक तथ्याङ्क अनुसार विश्वभर बर्सेनि ७० लाख मानिसहरूको वायु प्रदूषणका कारण मृत्यु हुने गरेको छ ।
त्यस्तै अर्का वातावरणविद् भूषण तुलाधरका अनुसार सामान्यतया यो मौसम प्रदूषित हुने र पछिल्ला दिनमा देशका विभिन्न भागमा वन डढेलोका कारण वायु प्रदूषण बढेको हो । जलवायु परिवर्तनका कारण लामो समय पानी नपरेकाले वन डढेलोका घटना बढिरहेको र यसले वातावरणमा प्रत्यक्ष असर पुर्याइरहेको उनको भनाइ छ ।
तापक्रम वृद्धि भएसँगै वन डढेलोका घटना पनि ह्वात्तै बढेका छन् । सुक्खा खडेरी बढ्दो क्रमसँगै बुधवार मात्र देशभर एकै दिन १७ जिल्लामा तीन सय ७९ स्थानमा डढेलो लागेको थियो । बढ्दो तापक्रम, प्रतिकूल मौसम, वनमा रहेको ज्वलनशील पदार्थको उपस्थिति तथा भौगोलिक विकटताका कारण वन डढेलो नियन्त्रण र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
वातावरणविद् तुलाधरले वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको बताए । वायु प्रदूषणले श्वासप्रश्वास, मुटु क्यान्सरलगायत दीर्घ रोगको खतरा रहेको उनको भनाइ छ । उनले भने, ‘वायु प्रदूषण बढ्नुमा डढेलोको पनि मुख्य भूमिका छ, वन डढेलो लाग्ने दुई कारणमध्ये पहिलो मानवीय क्रियाकलाप र दोस्रो जलवायु परिवर्तनका कारण लामो समय वर्षा नभएर सुक्खापना बढिरहेकाले डढेलोको जोखिम बढाएको छ ।’
वायु प्रदूषण नियन्त्रणका लागि तत्कालै डढेलो नियन्त्रण र आगामी दिनमा यसको जोखिम न्यूनीकरणमा रणनीतिक योजना आवश्यक रहेको उनको भनाइ छ ।
आज विश्व पृथ्वी दिवस मनाइँदै
आज विश्व पृथ्वी दिवस । विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइँदै छ । अप्रिल २२ अर्थात् आजका दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ ।
सन् १९६९ सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलार्धको वसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर, पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन् १९७० मा पर्यावरण शिक्षाको रूपमा एक छुट्टै पृथ्वी दिवसको शुरुवात गरे ।
त्यस्तै सन् २००९ मा राष्ट्रसंघको ६३ औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ । पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने प्रचलन छ ।
प्रतिक्रिया दिनुहोस