काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ । अपरान्ह पछि पश्चिम तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
त्यस्तै, राती कोशी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको र अपरान्ह पछि तराईका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति तथा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस