काठमाडौं । बेनीमा रहेको म्याग्दी बहुमुखी क्यापसको भवन निर्माण गर्ने योजना निर्धारित समयमै सम्पन्न भएको छ ।
विश्वविद्यालय अनुदान आयोग र क्याम्पसको साझेदारीमा ५ कोठे १ तले भवन बनाउन २०७९ कात्तिक ४ गते उत्तरगंगा निर्माण सेवासँग ९५ लाख ८५ हजार ४१२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । भवनमा २ वटा शौचालय पनि छन् ।
विक्रम संवत् २०७९ चैत २५ गतेसम्म ठेक्काको म्याद भएको भवन निर्माण व्यवसायीले चैत २२ गते नै हस्तान्तरण गरेको क्याम्पस प्रमुख गोरखबहादुर जिसीले जानकारी दिए । आयोगको १ करोड र क्याम्पसको ३४ लाख रुपैयाँ साझेदारी गर्ने गरी लागत अनुमान तयार गरिएको भवनको ठेक्का प्रतिस्पर्धामा सहभागी १२ मध्ये सबैभन्दा कम कबोलेको उत्तरगंगासँग सम्झौता भएको हो ।
क्याम्पसको भवनको नापजाँच गर्ने क्रममा ढिस्कोले पुरिएर उत्तरगंगाका सञ्चालक कृष्ण बरुवालको २०७९ मंसिर २१ गते मृत्यु भएको थियो । बरुवालको मृत्यु भए पनि उनका भाइ नवराजले जिम्मेवारी लिएर कम्पनीले ठेक्का लिएका आयोजनालाई पूर्णता दिएका हुन् ।
‘व्यवसायीले इच्छाशक्ति देखाएर पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गर्न सक्ने हो भने जस्तोसुकै असहज अवस्थामा पनि आयोजना सम्पन्न गराउन सकिने रहेछ,’ क्याम्पस प्रमुख जिसीले भने, ‘आयोजना कार्यान्वयन गराउने पक्षले निगरानी, समन्वय र सहजीकरण गरेर काम गर्ने वातावरण बनाउने हो भने ढिलासुस्ती हटाउन सकिन्छ ।’
एमएड, बीआईसीटी र बीबीएको कक्षा सञ्चालन गर्न क्याम्पसले ४ करोड ३३ लाख लागत अनुमानसहित ४ तले भवनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएको छ । क्रमागत योजनाअन्तर्गत आगामी आर्थिक वर्षका लागि आयोगमा थप १ करोड ८७ लाख बजेट प्रस्ताव गरिएको छ ।
समुदायस्तरबाट सञ्चालित विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायण सुनिश्चितता ९क्यूएए० को प्रमाणपत्र पाएको क्याम्पसको पूर्वाधार र शैक्षिक कार्यक्रम विस्तारले तीव्रता पाएको छ । १ हजार २०० विद्यार्थी अध्ययनरत म्याग्दी क्याम्पसको हाल समग्र उत्तीर्ण प्रतिशत ३७ दशमलव ०५ प्रतिशत छ ।
प्रतिक्रिया दिनुहोस