काठमाडौं । चितवन जिल्ला प्रशासन कार्यालयले आइतबार पूर्वपश्चिम राजमार्ग बन्द गर्ने निर्णय गरेको छ । जिल्ला सुरक्षा समिति चितवनको बैठकले भोलि बिहानैदेखि मुख्य राजमार्गसहित जिल्लामा सवारीसाधन चलाउन रोक लगाउने निर्णय गरेको हो ।
मुख्य राजमार्गमा लामो दूरीका सवारीसाधनलाई समूहमा सुरक्षाकर्मीले स्कर्टिङसहित कटाउने निर्णय गरेको सुरक्षा समितिले भोलि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको छ ।
यसका लागि छिमेकी जिल्लालाई पनि सूचना गरिसकिएको प्रशासनले जानकारी दिएको छ । भोलि बिहान ६ बजेअगाडि नै सवारीसाधन यो जिल्लाबाट कटाइसक्न भनिएको छ ।
काठमाडौंबाट चितवन हुँदै जाने सवारीसाधन धादिङमा र काठमाडौं भित्रिने सवारीसाधन मकवानपुरमै रोकिनेछन् ।
निर्वाचनका लागि आवश्यक सामाग्री ढुवानी र कर्मचारीको व्यवस्थापन भइसकेको छ । आइतबार बेलुकीदेखि नै त्यहाँ मतगणना सुरु गर्ने तयारी रहेको छ ।
यसअघि यो क्षेत्रबाट निर्वाचित सांसद रवि लामिछाने नागरिकताको मुद्दामा दोषी ठहर भएसँगै यो क्षेत्रमा उपनिर्वाचन भएको हो । पुनः प्रक्रिया पूरा गरेर नागरिकता लिएका लामिछाने पनि प्रतिस्पर्धामा छन् । रास्वपाका सभापतिसमेत रहेका लामिछानेसँगै नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र एमालेका रामप्रसाद न्यौपाने मुख्यगरी प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस