aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

मन्त्री किराँती भन्छन्– ‘गाईभैँसीको भन्दा हवाई जहाजको गोठालो गर्न गाह्रो रहेछ’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
मन्त्री किराँती भन्छन्– ‘गाईभैँसीको भन्दा हवाई जहाजको गोठालो गर्न गाह्रो रहेछ’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गाउँमा गाईभैँसी गोठालो गर्नु भन्दा गाह्रो हवाई जहाजको गोठालो गर्न रहेको बताएका छन् । मङ्गलवार सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै उनले यस्तो बताएका हुन् । 

उनले यो सन्दर्भ सोमबार राती भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाजबारे चलेको हल्लासँग जोडेका हुन् । सोमबार राती विमानस्थलबाट उडानभरे लगत्तै उक्त जहाजको इन्जिनमा ठूलो आवाजसहित आगोको झिल्को देखिएको हल्ला चलेको थियो ।  

यसबारे इंकित गर्दै मन्त्री किराँतीले लेखेका छन्, ‘गाउँमा गाई भैँसी गोठालो गरेर आएको मान्छे हुँ, आज सहरमा हवाईजहाजको गोठालो गर्दैछु । गाई भैँसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले  राम्ररी थाहा पाएँ ।’ 

जहाजको सिङ्गल इन्जिन खराब भएको भनिएको थियो । सोही अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरणका लागि सबै संयन्त्र तैनाथ थिए । टावरका एटीसीले पाइलटसँग निरन्तर ‘कम्युनिकेसन’ गरिरहेका थिए । पाइलटले जहाज सामान्य अवस्थामा रहेको र गन्तव्य जाने भनेपछि विमानस्थलका अधिकारीले उडान खुलाउने निर्णय लिएका थिए । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार जहाजको इन्जिनमा खराबी आएपछि आकस्मिक अवतरणको तयारी गरियो । राति ९ः२० मिनेटदेखि ९ः५९ सम्म विमानस्थलमा अन्य जहाजको उडान रोकेर अवतरणको तयार गरिएको थियो । विमानस्थलमा दमकल, ‘लोकल स्ट्याण्डबाई’ गरियो । यो भनेको कुनै जहाजले खराबी देखिए इमर्जेन्सी भनी घोषणा गरेपछि आकस्मिक अवतरणका लागि गरिने अभ्यास र तैनाथ संयन्त्र हुन् । 

दमकलसहित भेहिकल, सुरक्षाकर्मी, अस्पताल सबै तयारी अवस्थामा राखियो । पाइलटले जहाज गन्तव्य पुग्छ भन्ने घोषणा गरेपछि विमानस्थलले सबै उडान खुलायो । जहाजको सबै पार्टपुर्जा जाँच गर्दा ठिक रहेको र जहाज गन्तव्य पुग्छ भन्ने पाइलटले निर्णय लिएपछि उक्त जहाज गन्तव्यतिर लागेको हो । 

उक्त जहाजमा १६७ यात्रु सवार रहेको विमानस्थलले जनाएको छ । जहाजमा चरा ठोक्किएको भन्ने समेत हल्ला चलेको थियो । यसबारे मन्त्री किराँती भन्छन्, ‘जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।’ 

साथै उनले नकारात्मक हल्ला गर्ने बानी हामी सबैले छोड्नु पर्ने समेत उनले आग्रह गरेका छन् । मन्त्री किराँतीले लेखेका छन्, ‘कृपया मेरो सबैमा बिन्ती छ छोडौँ । कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’                   

 

 

प्रतिक्रिया दिनुहोस