aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

चोरीका घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा जडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ बैशाख २०८०
चोरीका घटना न्यूनिकरण गर्न गलकोटमा सिसिटिभी क्यामरा जडान

गलकोट । गलकोट क्षेत्रमा बढ्दो चोरीका घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरिएको छ । वैदेशिक रोजगारी  तथा बसाइँसराइँका कारण गाउँ खाली हुँदै गएपछि बन्द रहेका घरमा चोरीका घटना बढ्न थालेपछि सिसिटिभी क्यामरा जडान गरिएको हो ।

गाउँका घरमा बुढाबुढी मात्रै भएको र ताला लगाएका घरमा पनि चोरी हुन थालेपछि गलकोट नगरपालिकाले त्यस्ता घटना न्यूनिकरणका लागि सिसिटिभी क्यामरा जडान गरेको हो । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गबीच भागमा पर्ने गलकोट क्षेत्र पछिल्लो समय तीव्ररुपमा सहरीकरण भइरहेको छ । सहरीकरणसँगै आपाराधिक घटना बढ्दै गएपछि नगरपालिकाले हटियाबजार नरेठाँटी, मल्म, हरिचौर बजार, भ्यूटावर,लगायतका गलकोटको मुख्य बजार क्षेत्र र नाकामा २० वटा सिसिटिभी क्यामेरा जडान गरेको छ । 
 
सिसिटिभी क्यामेरा जडानपछि आपाराधिक क्रियाकलाप न्यूनिकरण हुनेमा  नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले यसका लागि चालु आर्थिक वर्षमा रु १० लाख बजेट बिनियोजन गरेको थियो । सिसिटिभी क्यामरा ‘कन्ट्रोल रुम’ इलाका प्रहरी कार्यालय हरिचौरमा राखिनेछ ।  

“अहिले लोकमार्ग छेउछाउका क्षेत्रमा धमाधम घर भवन बनिरहेका छन्, सँगसँगै बढ्दो बजारीकरणका कारण यहाँ धेरै घटना पनि हुने गरेका छन्”, उनले भने, “त्यस्ता घटना नियन्त्रण गर्न हामीहरुले बजार क्षेत्रमा र सम्भावित घटना हुने ठाउँमा सिसिटिभी क्यामरा जडान गरेका हौँ । आवश्यता अनुसार अन्य क्षेत्रमा पनि विस्तारै जडान गरिनेछ ।”

नगरप्रमुख भरत शर्मा गैरेले बजारलाई व्यवस्थित गर्न सिसी क्यामराले ठूलो टेवा पुर्याउनेमा विश्वास व्यक्त गरे । समय–समयमा बजार क्षेत्रमा गलत क्रियाकलाप हुने र नगरपालिकाले बनाएका नीति नियमलाई पालन नगरेको पाइएकोमा अब सिसिटिभी क्यामरामार्फत निगरानी गर्ने उनको भनाइ छ । यसले जथाभावी फोहर फाल्ने, तोडफोड हुने घटना पनि अब न्यूनिकरण हुने प्रमुख गैरेले बताए ।  

प्रतिक्रिया दिनुहोस