काठमाडौं । फ्लाई दुबईको जहाजमा चरा ठोक्किएको भनेर भ्रम फैलाएको आरोपमा दुई जना कारबाहीमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले चरा ठोक्किएको प्रमाण नभेटिएको र भ्रम फैलाएको ठहर गर्दै दुई जना म्यानेजरलाई कारबाही गरेको हो ।
सोमबार राति ९ः२० बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आगोको झिल्को र ठूलो आवाज आएको थियो । उक्त समयमा जहाजमा चरा ठोक्किएको हल्ला फैलाएको भन्दै कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई कारबाही गरिएको हो ।
प्राधिकरणले भनेको छ, ‘हिजो रातिको फ्लाई दुबई फ्लाइट नम्बर एफडिजेड ५७६ काठमाडौं–दुबई उडानमा चरा ठोक्किएको भनेर भ्रमपूर्ण समाचार फैलाएकाले फ्लाई दुबईका कन्ट्री म्यानेजर र एयरपोर्ट म्यानेजरलाई विमानस्थल प्रवेशमा रोक लगाई उनीहरूको एयरपोर्ट पास समेत निष्क्रिय पारिएको छ ।’
प्रतिक्रिया दिनुहोस