काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद डा. चन्द्रकान्त भण्डारीले आफ्नो उपचारमा संलग्न सबैलाई धन्यवाद दिएका छन् । हाल भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचारारत रहेका डा. भण्डारीले आफ्नो उपचारमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुका साथै स्वास्थ्य लाभको कामना गर्नेहरुलाई पनि धन्यवाद दिएका हुन् ।
सफल उपचारपछि आइतबार स्वदेश फर्किने तयारीमा रहेका डा. भण्डारीले भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली कांग्रेससहित र अन्य पार्टीका नेता, काठमाण्डौंको बर्न अस्पताल कीर्तीपुर तथा भारतीय अस्पतालमा उनको उपचारमा संलग्न स्वास्थकर्मीहरु भारतमा रही विभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण, कुटनीतिज्ञ स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरु, प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु, आफन्तजनहरु, स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गरेका छन् ।
गएको फागुन ३ गते आफ्नो निवास रहेको काठमाडौंको बुद्धनगरमा ग्यास लिक भएर स्पार्क निस्किँदा उनीसहित उनकी आमा हरिकला गम्भीर घाइते भएका थिए । स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा उनलाई फागुन ४ गते भारतको महाराष्ट्र, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो भने उनकी आमाको भने ४ गते नै निधन भएको थियो ।
अहिले भण्डारीको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ । अब उनको थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ । भण्डारी आइतबार करिब साढे दुई महिना पछि दिउँसो २.५५ बजे मुम्बईबाट नेपाल वायुसेवा निगमको मुम्बई- काठमाण्डौं नियमित उडानबाट नेपाल फर्कने छन् ।
प्रतिक्रिया दिनुहोस