भैरहवा । रुपन्देहीको सियारी गाउँपालिका कार्यालयका करार सेवामा कार्यरत कर्मचारीले आफूहरूलाई विभेदपूर्ण तरिकाले अवकाश दिइएको भन्दै आपत्ति जनाएका छन् । पालिकाका अध्यक्ष थानेश्वर घिमिरेले नेतृत्व समाले लगत्तै अघिल्लो कार्यकालका अध्यक्ष अयोध्या प्रसाद चौधरीले नियुक्ति गरेका कर्मचारी हटाएका हुन् ।
घिमिरे नेपाली काँग्रेसबाट उम्मेदवार भई निर्वाचित भएका हुन् । उनले नेकपा एमालेबाट अघिल्लो कार्यकालका लागि निर्वाचित चौधरीको कार्यकालमा करारमा नियुक्त कर्मचारीलाई हटाएका हुन् । समान प्रक्रियाबाट नियुक्ति भएका कर्मचारी मध्ये केहीलाई मात्र राजनीतिक प्रतिशोध साँध्ने हिसाबले हटाइएको कर्मचारीको भनाइ छ । नेताहरूका आफन्तलाई काखी च्यापेर कार्यरत कर्मचारीलाई म्याद थप नगरी कामबाट निकाल्नु सरासर गलत भएको कर्मचारी बताउँछन् ।
सियारी गाउँपालिकाले साउन १ गतेबाट लागु हुनेगरी करारका १४ जना कर्मचारीलाई म्याद थप नगरी अवकाश दिने निर्णय गरेको थियो । उनीहरूलाई निकालेर पुनः सोही पदमा नयाँ कर्मचारी नियुक्त गरिएको छ । घिमिरेले कार्यालय सहयोगी, सहायक, गाडी चालक, अमिन, कम्प्युटर अपरेटर, इन्जिनियर, पशु प्राविधिक, ल्याब असिस्टेन्ट लगायतका कर्मचारी निकालेका हुन् ।
यसरी निकालिनेमा इन्जिनियर अनिल चौधरी, अमिन पुरन थारु, कम्प्युटर अपरेटर दमबहादुर थारु, गायत्री थारु, महेश आचार्य, गाडी चालक सन्ध्या थारु, पशु प्राविधिक, अजय थारु, एम्बुलेन्स चालक सिर्पत यादव, ल्याब असिस्टेन्ट शैलेश उपाध्याय, कार्यालय सहयोगी विष्णु कुमारी चौधरी, शम्भु कुमारी थारु लगायतका कर्मचारी रहेका छन् । अध्यक्ष घिमिरेले यी कर्मचारी निष्कासन गरेर अन्य आफन्तलाई कर्मचारीका रुपमा भर्ना गरेको आरोप छ ।
नियमित रुपमा काम गर्दा गर्दै अध्यक्ष घिमिरेले राजनीति प्रतिशोधका कारण आफूलाई हटाएको कार्यालय सहयोगी विष्णुकुमारी थारु बताउँछिन् । सियारी गाउँपालिका वडा नं. ३ स्थायी घर भएकी थारुले बिना कारण कामबाट हटाउँदा आफ्नो जीविकोपार्जन समेत समस्या निम्तिएको बताउँदै पालिकामा करारमा कार्यरत कुनै पनि कर्मचारीको जागिरको सुरक्षा नभएको गुनासो गरिन् ।
पुरन थारुको पनि समस्या उस्तै छ । अमिनको जागिर गरेर पालिकामा बसेका उनलाई अध्यक्ष घिमिरेले नेतृत्व सम्हाले लगत्तै कामबाट वञ्चित गरियो । अमिनको जागिर गरेर जीविका चलाइ रहेका उनी राजनीति प्रतिशोध राखेर कामबाट हटाइनुले नेपालमा बस्नु भन्दा विदेश पलायन हुनु उत्तम हुने निष्कर्षमा पुगेका छन् ।
कार्यालय सहयोगीका रुपमा कार्यरत शम्भु कमारी थारुले गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेका कारण बेरोजगार हुनु परेको बताउँदै आफ्नो समस्या सुनाउँछिन् । लामो समय सम्म स्थानीय तहमा काम गरी सेवा निवृत्त ओमबहादुर मल्ल कर्मचारी हेरफेर गरिरहँदा काम गर्न असहज हुने बताउँछन् ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले आफू अनुकूलका कर्मचारी ल्याउनको लागि करारका कर्मचारी हटाएको स्वीकार गर्दै काम नगरे जुनसुकै करारका कर्मचारी हटाउने बताउँछन् । राजनीति नियुक्ति पाएकोले पुराना काम गर्ने कर्मचारी हटाएर नयाँ ल्याएको र सिकाउँदै गरेको अध्यक्ष घिमिरे बताउँछन् ।
प्रतिक्रिया दिनुहोस