aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

सुख्खा पहिरो खसेपछि अरुण नदी थुनियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १७ बैशाख २०८०
सुख्खा पहिरो खसेपछि अरुण नदी थुनियो

काठमाडौँ । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो ।

सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन मणि घिमिरेका अनुसार  अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको हो । जसका कारण अहिले अरुण नदीको पानीको बहाव नै रोकिएको छ ।

उनका अनुसार हाल अर्कोतर्फबाट पानी निकास खोल्ने प्रयास भइरहेको छ । उनले भने, 'खासै खतरा केही छैन । अबको केही घण्टामा नै साबिक कै गतिमा नदी बग्नेछ ।' अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । हाल टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले जानकारी दिए ।

सो स्थानमा अरुण नदीको बहाव परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । आयोजना निर्माणको क्रममा अस्थायी बाँध निर्माण गरी टनेल मार्फत नदी पठाउँदै आइएको थियो । टनेल बन्द भएपछि करिब ७० फिट अग्लो बाँधमा पानी जम्मा भएको छ । 

पक्की भएकाले तत्काल बाँध नफुटे पनि लामो समयसम्म पानी जम्मा भएमा खतरा हुने देखिन्छ । सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ । पहिरोले अरुण थुनिएपछि दुई किलोमिटर माथिसम्म ताल बनेको छ ।

प्रतिक्रिया दिनुहोस