aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

साग खेलकुदमा महिला क्रिकेटरको विश्वकीर्तिमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १६ मंसिर २०७६
साग खेलकुदमा महिला क्रिकेटरको विश्वकीर्तिमान

काठमाडौं । जारी साग खेलकुद प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले विश्व कीर्तिमान कायम गरेको छ । माल्दिभ्ससँगको प्रतिस्पर्धामा जम्मा पाँच बल मात्र खेलेर जित हासिल गर्ने क्रममा नेपाली महिला क्रिकेट टोलीकी सदस्य अञ्जली चन्दले कीर्तिमान राखेकी हुन् । उनले कुनै पनि रन नदिई ६ विकेट हात पारेकी हुन् । ६ विकेट लिने क्रममा उनले ह्याट्रिक समेत गरिन्। विश्व क्रिकेटमा अहिलेसम्म कुनै पनि क्रिकेटरले रन नखर्चिकन ६ विकेट हात पार्न सकेका थिएनन् ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा भएको खेलमा नेपालले माल्दिभ्सलाई १० विकेटले हराएको छ । प्लेअर अफ द म्याच घोषित चन्दको यो बलिङ् प्रदर्शन टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा सबैभन्दा उत्कृष्ट हो। उनले आफ्नो दोस्रो बलमै विकेट लिएकी थिइन् र पहिलो ओभरमा ३ विकेट हात पारिन्।आफ्नो दोस्रो ओभरको अन्तिम दुई बल र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर उनले ह्याट्रिक पनि पूरा गरिन्।

हालसम्म टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा छजना खेलाडीले एकै खेलमा ६ विकेट लिएका छन्।

चन्दको प्रदर्शन अगाडि उत्कृष्ट प्रदर्शन मलेशियाकी मास इलिसाको थियो जसले चीनविरुद्ध गएको जनवरीमा भएको खेलमा ३ रन दिएर ६ विकेट लिएकी थिइन्।

माल्दिभ्सलाई नेपालले १०.१ ओभरमा १६ रनमा अलआउट गरेको थियो। त्यसपछि जितका लागि आवश्यक रन नेपालले जम्मा पाँच बल खेलेरै हासिल गर्‍यो। काजल श्रेष्ठ १३ रन बनाएर नटआउट रहिन्। टी २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा पहिलो खेल खेलिरहेकी नेपालकी अञ्जली चन्दले २.१ ओभर बलिङ गर्दै कुनै रन नदिई छ विकेट लिएकी छिन्।

प्रतिक्रिया दिनुहोस