काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लाभांस प्रतिफल र कर पछिको नाफा १८३.४ करोड पु¥याएको छ । जुन गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हुन आउँछ । युनिलिभर नेपालका शेयरधनीहरु यस वर्ष कम्पनीकै इतिहासमा सर्वाधिक धेरै लाभाँश प्रति शेयर १५८० रुपैयाँका साथ लाभान्वीत हुने भएका छन् ।
युनिलिभर नेपालको ३० औं वार्षिक साधारण सभा आज कम्पनीका अध्यक्ष देव बाजपेइ र प्रबन्ध निर्देशक अम्लान मुखर्जीको समुपस्थितिमा सफलतापूर्वक होटल याक एण्ड यतीमा सम्पन्न भएको छ ।
युनिलिभर नेपाल लिमिटेडले नेपालमा आफ्नो ३० औं वार्षिकोत्सव “हरेक घरमा, हरेक मनमा” भन्ने नाराका साथ मनाइरहेको कम्पनीले जनाएको छ । जसले नेपालका हरेक नेपालीको घरमा उनीहरुको प्रिय ब्राण्ड र उत्पादनको फराकिलो दायरा हुनुलाई प्रतिबिम्बित गर्दछ ।
सोही समारोहमा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले कर पश्चात् कम्पनीको खुद नाफा गत वर्षको १५४.२ करोड रुपैयाँबाट बढेर यो वर्ष १८३.४ करोड पुगेको बताउँदै उक्त नाफा बितेको १० वर्षकै सबैभन्दा धेरै भएको बताए । उनले यो अद्भूत सफलता उत्पादनहरुको स्थानीयकरणमा गरिएको प्रयासहरु, प्रभावकारितामार्फत् गरिएको उल्लेख्य लागत बचत, र उपभोक्ताहरुले युनिलिभरको ब्राण्डहरुमा देखाएको अतुलनीय रुचीका कारण प्राप्त हुन सकेकोमा जोड दिनु भएको छ ।
प्रबन्ध निर्देशक अम्लान मुखर्जीले अगाडि भने “हाम्रो ब्यालेन्स सिट न्यून लगानीको कारण मजबुत छ र बलियो संचालन पूँजीको प्रवाह रहेकोले गत वर्ष बजारमा समस्या हुँदा पनि यसलाई कुनै असर परेको थिएन । युनिलिभर नेपाल लिमिटेडको ८५% शेयर संस्थापक शेयरधनीहरुको रहेको छ भनें बाँकी १५% शेयर सर्वसाधारणहरुको रहेको छ ।
प्रतिक्रिया दिनुहोस