aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत् लैजाने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २३ बैशाख २०७६
नेपालबाट बंगलादेशले ९ हजार मेगावाट विद्युत् लैजाने

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले सरकारलाई नेपालको निजी क्षेत्रबाट उत्पादित विद्युत् बंगालादेश निर्यात गर्ने सम्बन्धी प्रस्ताव अगाडि बढाउन नेपाल सरकारलाई आग्रह गरेको छ ।

नेपाल र बंगलादेशबीच विद्युत् ब्यापार विस्तार गर्ने मूल उद्देश्यले बंगलादेशका निजी विद्युत् ब्यवसायीको निमन्त्रणामा बंगलादेश पुगेर फर्केपछि इप्पानले शुक्रबार पत्रकार सम्मेलन गरी सो माग गरेको हो । इप्पान अध्यक्ष शैलेन्द्र गुरागाइँको नेतृत्वमा १४ सदस्यीय प्रतिनिधिमण्डलले गत वैशाख १५ देखि १८ गतेसम्म बंगलादेशको भ्रमण सम्पन्न गरेको थियो ।

इप्पानले अब हुन लागेको नेपाल र बंगालदेशबीचको संयुक्त कार्यकारिणीय र कार्यमूलक समितिको बैठकमा नेपालका निजी क्षेत्रका प्रवद्र्धकले बंगलादेशलाई बिजुली बेच्न पाउने व्यवस्था गर्नुपर्ने इप्पान अध्यक्ष गुरागाईंले बताए ।

त्यसैगरी इप्पानले नेपाल सरकारले निर्यातसम्बन्धी आफ्नो स्पष्ट अवधारणा ल्याउन र भारतमा प्रसारणलाइन प्रयोग गर्नका लागि सम्बन्धित पक्षसँग वार्ता अगाडि बढाउन पनि आग्रह गरेको छ ।

इप्पानले भ्रमणबाट दुई देशबीच सन् २०१८ अगस्ट मा सम्पन्न ऊर्जा सहकार्यसम्बन्धी समझदारीले दुवै राष्ट्र संयुक्त रूपमा विद्युत् विकास तथा विद्युत् ब्यापार गर्न प्रतिबद्ध रहेको र बंगलादेशको सरकारी पक्ष तथा निजी क्षेत्र दुवैले यो अवसरको सदुपयोग गर्न आग्रह गरेको छ ।

भारतले छिमेकी राष्ट्रबीच विद्युत् आदान–प्रदानका लागि अंगीकार गरेको उदार नीतिले गर्दा नेपाल र बंगलादेशबीच विद्युत् ब्यापार विस्तार गर्ने वातावरण बनेको र अवसरको फाइदा सकेसम्म छिटो लिनुपर्छ भन्ने बंगलादेशको सरकारी तथा निजी क्षेत्रको धारणा उल्लेख गर्दै इप्पानले बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्ने लक्ष्य राखेको समेत उल्लेख गरेको छ । कारोबार दैनिकबाट 

प्रतिक्रिया दिनुहोस