aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

कर्णाली र सुदूरपश्चिममा टेलिकमले २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ मंसिर २०७६
कर्णाली र सुदूरपश्चिममा टेलिकमले २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने

काठमाडौं । कर्णाली र सुदूरपश्चिम प्रदेश खण्डमा सूचना महामार्ग निर्माण गर्न नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच बिहीबार समझदारी भएको छ । नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दुई वर्षभित्र करिब २५ सय किलोमिटर अप्टिकल फाइबर बिछ्याउने सो समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सो कार्यक्रममा प्राधिकरणका अध्यक्ष खनालले सरकारले घोषणा गरेको आर्थिक समृद्धिको आधारशिलाका रुपमा सूचना महामार्ग निर्माणलाई अघि बढाइएको बताउँदै निर्धारित समयमै कार्य सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले सूचना र प्रविधिका कोणबाट मात्र नभई डिजिटल अर्थतन्त्र निर्माणका लागि समेत यो आयोजना अति महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता आयोजनाले मुलुकमा प्राविधिक र आर्थिक रुपान्तरण ल्याउन मद्दत पुग्ने बताउनुभयो ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम, उत्तर–दक्षिणका साथै हुलाकी मार्ग, जिल्ला सदरमुकाम र नगरपालिकालाई समेत यस अयोजनाले सूचना महामार्गको सञ्जालमा जोड्ने लक्ष्य रहेको छ । नेपाल टेलिकमले निर्माण गर्ने यो आयोजनाले रुकुमको मुसिकोटदेखि बैतडीको झुलाघाटसम्म नेटवर्क विस्तार हुनेछ । साथै ती दुई प्रदेशका सहित बाँके र बर्दियासमेत गरी कूल २० जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार हुनेछ ।
   

यस आयोजनाअन्तर्गत मध्यपहाडी लोकमार्ग, पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गमा न्यूनतम ९६ कोरको तथा जिल्ला सदरमुकाम र नगरपालिकासम्म न्यूनतम क्रमशः ४८ र २४ कोरको अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । 
त्यस्तै आवश्यकता अनुसार ४०० गिगाविट प्रतिसेकेण्डसम्म क्षमता अभिवृद्धि गर्न सकिने गरी १०० गिगाविट प्रतिसेकेण्ड क्षमताका पोर्ट तथा १० गिगाविट प्रतिसेकेण्ड क्षमताका पोर्ट वा दुवैको मिश्रण रहेका कोर राउटर प्रयोगमा ल्याइनेछ । यस अप्टिकल फाइबर सञ्जालमा करिब २६ स्थानमा डिडब्ल्युडिएम र ५२ स्थानमा राउटर प्रयोगमा आउनेछन् । 
 

प्रतिक्रिया दिनुहोस