aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

त्रिशूली–काठमाडौं प्रसारणलाइन सञ्चालनमा आउँदै, १५ मिटर दाँया बायाँ नजान आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ बैशाख २०७६
त्रिशूली–काठमाडौं प्रसारणलाइन सञ्चालनमा आउँदै, १५ मिटर दाँया बायाँ नजान आग्रह

काठमाडौं, वैशाख २४ । नुवाकोट र रसुवामा निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी डबल सर्किट प्रसारणलाइन आइतबारबाट परीक्षण शुरु गरिने भएको छ । प्रसारण लाइनको १ सय ४१ वटै टावर निर्माण र तार तान्ने काम सम्पन्न भएकाले परीक्षणको कार्य अघि बढाइएको हो । 

नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको ४५ किलोमिटर लामो प्रसारणलाइनको परीक्षण गर्न लागेको हो । प्रसारणलाइन र आयोजना सम्पन्न गर्न प्राधिकरणले १२ अर्ब १२ करोड रुपैयाँ खर्च गरेको छ । परीक्षण शुरु हुन लागेकाले प्रसारणलाइन रहेको उक्त आयोजनाको टावर, अर्थिङलगायतका संरचनामा नछुन भनिएको छ ।  लाइनको मध्य भागको दाँया र बाँया १५/१५ मिटर क्षेत्रमा नजान÷नछुन समेत स्थानीय सर्वसाधारणलाई आयोजनाले अनुरोध गरेको छ ।

प्रसारणलाइनको भौतिक निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले बताए । ‘प्रसारणलाइनको एक हजार तीन सय नौ मिटर संरचना भूमिगत रहेको छ,’ उनले भने–‘परीक्षणपछि प्रसारणलाइन पूर्ण रुपमा सञ्चालनमा आउनेछ ।’नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोड्ने उद्देश्यले चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन (सीडब्लूई)ले २०६८ फागुन १४ देखि आयोजना निर्माण शुरु गरेको हो । तेस्रोपटक  म्याद थप गरी २०७५ माघभित्र आयोजना सम्पन्न गर्ने कम्पनीको लक्ष्य रहे पनि अहिले सम्पन्न भएको हो । 


चीन सरकारको सहुलियतपूर्ण ऋण सहयोग, नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा त्रिशूली ३ ‘ए’ र प्रसारणलाइन आयोजना निर्माण गरिएको हो । 

त्रिशूली थ्री ‘ए’ को विद्युतगृहदेखि त्रिशूली थ्री ‘बी’सम्म १३२ केभी र सो हवदेखि मातातीर्थ सबस्टेसनसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण गरिएको जोशीले जानकारी दिए । ‘अब प्रसारणलाइन जडान कार्य सम्पन्न भएको छ,’ उनले भने–‘त्रिशूली थ्री ‘ए’, रसुवा र नुवाकोटमा निर्माणाधीन रसुवागढी, सान्जेन, त्रिशूली थ्री ‘बी’लगायतका आयोजनाबाट उत्पादित विद्युत सोझै काठमाडौं आइपुग्नेछ । 

प्रसारण लाइन सञ्चालनमा आएपछि नुवाकोट र रसुवामा उत्पादित करिब नौ सय मेगावाट विद्युत्लाई एकै ‘हब’ मार्फत केन्द्रीय प्रसारणलाइनसम्म जोड्न लक्ष्य आयोजनाको रहेको छ । नवनिर्मित प्रसारण लाइनमा दुई जिल्लामा निर्माण भइरहेको रसुवागढी, सान्जेन, तल्लो सान्जेन, त्रिशूली–१, त्रिशूली थ्री ‘ए’, थ्री ‘बी’, मध्यत्रिशूली, गल्छी–त्रिशूलीसहित सानाठूला गरी तीन दर्जनभन्दा बढी आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारणलाइनमा जोडिने छन् । 
 

प्रतिक्रिया दिनुहोस