
काठमाडौं । पर्यटन वर्षलाई झकिझकाउ बनाउनभन्दै जथाभावी टेलिफोन र इन्टरनेटका तार काटिदा पर्यटकीय क्षेत्र ठमेल सूचनासञ्चारबाट सम्पर्क विच्छेद ब्ल्याक आउट जस्तै भएको छ । ठमेल क्षेत्रमा पर्यटनका नाममा खुलेका संघसंस्थाले ठमेल क्षेत्रमा तार काट्दा त्यस क्षेत्रमा इन्टरनेट र टेलिफोन सेवा प्रभावित भएको हो ।
भ्रमण वर्षमा ठमेलको सौन्दर्यता बढाउने भन्दै त्यस क्षेत्रमा वितरित टेलिफोन र इन्टरनेटको तार ६ दिन अगाडी काटिएको थियो । ठमेलमा सूचनाप्रविधिको सेवा प्रभावित भएको छ भने काटिएको तार लथालिङ्ग अवस्थामा सडकमा छोड्दा दुर्घटना हुन सक्ने खतरा समेत बढेकोे छ ।
उता, दूरसञ्चार सेवाको नियमक निकाय नेपाल दूरसंचार प्राधिकरण र सेवा प्रदायक निकायहरुको समन्वय विना तार जथाभावी काटिदा करोडौको क्षेती भएको नेपाल दूरसंचार प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए । अर्यालले भने, “भम्रण वर्षमा पर्यटकलाई लोभ्याउने भन्दै महानगरपालिकाको ठमेल लगायतका क्षेत्रमा दूरसञ्चार सेवा प्रदायकका (इन्टरनेट सेवा प्रदायक लगायतका) तारहरु काटिएका छन । समन्वय विना नै तार काटिदा सो क्षेत्रका नागरिकलाई समेत समस्या परेको छ ।”
हाल प्राधिकरणले अव्यवस्थित तारहरुलाई व्यवस्थित गर्ने प्रकृया अगाडी बढाइरहेको र सेवा प्रदायक संस्थाहरु पनि तार व्यवस्थापन गरिरहेका छन । सम्बन्धित संस्थाहरुले आफै सेवाको व्यबस्थापन गरिहेका थिए । तर, प्राधिकरणको समन्वय विना काटिदा सो क्षेत्रमा दूरसञ्चार सेवा अवरुद्ध हुन जाने, आम नागरिकको व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने तथा आम नागरिकको सञ्चार तथा सूचना पाउने हक हनन हुन गएको प्रति प्रवक्ता अर्यालले चिन्ता व्यक्त गरेका छन् । दूरसञ्चार जस्तो अति आवश्यक सेवा अवरुद्ध हुने गरी गरिएको यस्तो कार्य दूरसञ्चार ऐन, २०५३ को मर्म विपरीत हुनुको साथै दण्डनीय समेत भएकोले कानुनी कार्वाही पनि अगाडी बढाएको जानकारी दिए ।
त्यस्तै सम्बन्धित मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र सरोकारवाला सेवा प्रदायक संस्थाहरुसंग समन्वय नगरी इन्टरनेटका तारहरु काट्दा सेवाग्राहीहरु दूरसञ्चार सेवाबाट बञ्चित भएको केवल एसोशियसनका अध्यक्ष सुधिर पराजुलीले बताए ।
उनले भने, ‘क्षति भएको तार र यन्त्र उपकरण नेपालभित्र निर्माण नहुने हुँदा सेवा सुचारु गर्दा ठूलो मात्रामा थप आर्थिक व्ययभार समेत पर्ने भएकोले यस्तो कार्य कुनै पनि दृष्टिकोणबाट उचित देखिदैन । विकल्प नदिएर काटेको प्रति पराजुलीको आपत्ति रहेकोे छ ।’
प्रतिक्रिया दिनुहोस