aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घ्याम्पे डाँडामा बन्ने भयो ३७ करोडको द ग्रान्ड गुन्डु रिसोर्ट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ पुस २०७६
घ्याम्पे डाँडामा बन्ने भयो ३७ करोडको द ग्रान्ड गुन्डु रिसोर्ट

भक्तपुर  । सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेपछि सूर्यविनायक नगरपालिका–७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पे डाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । नगरकोट र धुलिखेलपछिको अर्को ठूलो पर्यटकीय क्षेत्रको रुपमा विकास भएको यो क्षेत्रमा पर्यटन व्यवसायी उत्साहित बनेपछि करोडौं लगानीमा होटल व्यवसाय शुरु हुन लागेको छ । 

यसैक्रममा सूर्यविनायक नगरपालिका–७ घ्याम्पे डाँडास्थित पाइलटबाबा आश्रमनजिकै ३७ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको ‘द ग्रान्ड गुन्डु रिसोर्ट’ को शिलन्यास भएको छ । शिलान्यासपछि बोल्दै संघीय संसदका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले स्वदेशी तथा विदेशी नागरिकका लागि नयाँ पर्यटकीय गन्तव्यको खोजी भइरहँदा सरकारले पर्यटकीय क्षेत्र घोषणा गरेसंँगै पर्यटन व्यवसायी उत्साहित भएको बताए । 

नौ वटा हिमश्रंखलादेखि काठमाडौं उपत्यकाका मनोरम दृश्यको अवलोकन गर्न सकिने घ्याम्पे डाँडा, रानीकोट, बोकाचा गढी, अनन्तलिङेश्वरलगायतका क्षेत्र नयाँ पर्यटकीय गन्तव्य बनेको बताए । यो क्षेत्र उपत्यकाकै उत्कृष्ट पर्यटक गन्तव्य बन्ने चर्चा गर्दै उनले यस क्षेत्रमा प्याराग्लाईडिङ, बन्जी जम्प, जिप लाइन सञ्चालनमा आउने तयारी रहेको र पर्यापर्यटन, पदमार्ग, शिवमार्ग निर्माण शुरु भएकाले यो क्षेत्रलाई धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको सांसद बस्नेतले बताए । 

कार्यक्रममा पर्यटन व्यवसायी एवम् द ग्रान्ड गुन्डुका अध्यक्ष बिज्ञान राईले १८ जना व्यवसायीको सामूहिक लगानीबाट ३७ करोडको लागतमा ५२ रोपनी क्षेत्रफलमा सुविधा सम्पन्न होटल निर्माण गर्न लागेको बताए । अध्यक्ष राईले भने–‘सात तले भवनमा ४४ वटा सुविधा सम्पन्न कोठा रहन्छन्, करिब २०० जना अट्ने क्षमताको सेमिनार हल, ५०० जनासम्म अट्ने बैंक्वेट, स्वीमिङ, पुल, स्पा, व्यायाम कक्ष, बाल उद्यान, शैक्षिक अनुसन्धान केन्द्र, साहसिक गेमहरुको सपोर्ट,  पिकनिक स्पोर्टस्, २०० सवारी साधन अट्ने पार्किङ लगायतका संंरचना निर्माण हुन्छ ।’

त्यस्तै कुखुरा, कालिज, गाईंलगायतका पुशपन्छीको फार्म समेत रहने र बालबालिका तथा विद्यालयका विद्यार्थीहरुको लागि अध्ययन केन्द्रको रुपमा समेत विकास गर्ने बताउदै उनले शतप्रतिशत अर्गानिक खानाको व्यवस्था गरिने भएको छ । अर्गानिक तरकारी उत्पादन गर्दै स्थानीय उत्पादन र स्थानीयबासीलाई पहिलो प्राथमिकतामा राखेर सीप अनुसारको रोजगारीको व्यवस्था गर्ने, कला संस्कृतिको प्रर्दशन गर्ने, स्थानीय तामाङ, नेवारी सांस्कृतिक प्रस्तुती दिँदै विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गर्ने गरी संरचना निर्माण हुन लागेको अध्यक्ष राईले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस