aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

विना जानकारी ट्रंक लाइन जोड्दा उद्योगीलाई समस्या

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • सोमबार, १४ पुस २०७६
विना जानकारी ट्रंक लाइन जोड्दा उद्योगीलाई समस्या

भैरहवा । नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाले उद्योगीलाई विना जानकारी ट्रंक लाइन जडान गरिदिँदा भैरहवा क्षेत्रका १६ उद्योग समस्यामा परेको उद्योगीहरुले बताएका छन् । अमुवा फिडरबाट दिइरहेको लाइन लोड व्यवस्थापन गर्ने भनी भरौलिया फिडरबाट पञ्चकन्या करिडोरका १६ उद्योगलाई नेपाल विद्युत प्राधिकरणले उद्योगीको पूर्व सहमति र जानकारी नगराई ट्रंक लाइनमा जोडि दिएकोले १६ उद्योगी मारमा परेका हुन् ।

पञ्चकन्या ग्रुपका महाप्रबन्धक देबेन्द्र साहु भन्छन्–“आफ्नो आन्तरिक लोड व्यवस्थापन गर्न हामी उद्योगीहरुलाई मारमा पारेको छ । प्राधिकरणले २०७४ चैतदेखि औद्योगिक फिडरलाई ट्रंक लाइनमा लगेर विद्युत आपूर्ति गरे पनि अहिले आएर १९ महिनाअघिदेखिको अतिरिक्त शुल्क जोडेर बिलिङ गरेको छ । प्राधिकरणले पठाएको बिलमा ६६ दशमलव ६७ प्रतिशतसम्म बढी महशुल आएको छ, अत्यधिक चर्को दरमा महशुल हामीले तिर्न सक्ने अवस्था छैन ।”

लुम्बिनी करिडोरमा थुपै्र उद्योग छन्, अरुले सामान्य विद्युत महशुल तिर्ने हामी १६ उद्योगले ट्रंक लाइनको महशुल तिर्दा उत्पादन लागत महँगो पर्ने भएकाले प्रतिस्पर्धा गर्न नसक्ने बताउँदै उद्योगीहरुले ट्रंक लाइनसरहको मूल्य तोकेर पठाएको बिल खारेज गरी साधारण महशुल अनुसार बिलिङ गर्न माग गरेका छन् ।  ‘हामीले विद्युत प्राधिकरण र सरोकारवाला निकायलाई पत्राचार र मौखिक जानकारी गराएका छौ यही अवस्थामा रहयो भने उद्योग बन्द गरेर चाभी विद्युत कार्यालयलाई बुझाउछौ–एभरेष्ट रोलिङ उद्योगका सञ्चालक अरुण गोयन्काले पत्रकार सम्मेलनमा भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपानेले आन्तरिक भार मिलाउनका लागि उद्योगीहरुलाई साधारण लाईनबाट ट्रंक लाइनमा राखेको देखिएको छ, उद्योगीहरु वास्तवमै समस्यामै परेको बताए ।

यता विद्युत प्राधिकरण कार्यालय भैरहवाका प्रमुख जितेन्द्र झाले भैरहवाका १६ वटा उद्योगलाई ट्रंक लाइनको विद्युत उपभोग गरेवापत केन्द्रको निर्देशन अनुसार बिलिङ गरेको हो, पहिला बुटवलबाट विद्युत उपभोग गरी उद्योग सञ्चालन भइरहेको थियो झाले भने ।

करिडोरमा पञ्चकन्या प्लास्टिक ईण्डष्ट्रिज, पञ्चकन्या स्टिल, सोना प्याकेजिङ, एसआर स्टिल, नवनेपाल प्लास्टिक ईण्डष्ट्रिज, शुभलक्ष्मी पोलिमर्स, नेसनल ट्रेड रबर ईण्डष्ट्रिज, जयदुर्गा प्लास्टिक, सोना पोलिमर्स ईण्डष्ट्रिज, यशोदा फुड प्रालि, प्रिया प्याकेजिङ, एजी हेल्थ उद्योग, एभरेस्ट रोलिङ मिल, लुम्बिनी फ्लोर मिल, फेरो स्टिल प्रालि, लुम्बिनी पिएससी ईण्डष्ट्रिज रहेका छन् । 

प्रतिक्रिया दिनुहोस