
काठमाडौं । सरकारले राष्ट्रिय महोत्सवकै रूपमा मनाउन लागेको ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक शुरुआत आगामी बुधबारदेखि गर्ने तयारी गरेको छ । बुधबार पौने चार बजे काठमाडौँको दशरथ रङ्गशालामा विशेष समारोहसहित भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिने भएकाे छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भ्रमण वर्ष अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । औपचारिक उद्घाटन दशरथ रंगशालामा भएतापनि सम्पूर्ण संघसंस्था तथा सर्वसाधारणलाई दिप प्रज्वलन गरि मनाउन सरकारले आग्रह गरेको छ। त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै सातै प्रदेशका मुख्यमन्त्रीले आ–आफ्नो प्रदेशबाट भ्रमण वर्षको उद्घाटन गर्नेछन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका पर्यटनमन्त्री र विशिष्ठ व्यक्तिलाई भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुने बताएका छन् ।
उद्घाटन समारोहमा भारत, चीन, बङ्गलादेश, युरोपलगायत देशका ४० भन्दा बढी प्रतिष्ठित सञ्चारमाध्यमका सञ्चारकर्मीको पनि सहभागिता रहनेछ ।
भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा करिब २ करोड खर्च हुने अनुमान गरिएको छ । सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
सातै प्रदेशको तयारी यस्ताे छ
प्रदेश १ मा भ्रमण वर्षको उद्घाटन शहीद पार्कमा
प्रदेश १ ले विराटनगरको शहीद मैदानमा भ्रमण वर्ष कार्यक्रमको भव्य उद्घाटन गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक योजना अघि बढाइएको प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
उद्घाटन समारोहमा प्रदेश १ का विभिन्न कला र संस्कृति प्रस्तुति गरिनेछ । प्रदेश १ ले भ्रमण वर्षमा ५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धन समिति गठन र पूर्वाधारका काम पनि अघि बढाइएको मन्त्रालयले जनाएको छ । पर्यटन पूर्वाधारमा १ अर्ब ५१ करोड विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ को तयारी
पर्यटन वर्ष २०२० को तयारीका लागि प्रदेश २ को आठवटै जिल्लाहरुमा समन्वय समितिहरु गठन भएका छन् । प्रदेश २ ले पनि जनवरी १ मा विभिन्न कार्यक्रमको आयोजना गरी भ्रमण वर्षको औपचारिक सुरुवात गर्दैछ ।
प्रदेश ३ ले सीमा नाकामा पर्यटकलाई स्वागत गर्ने
प्रदेश ३ सरकारले भ्रमण वर्षको दिन चिनियाँ र भारतीय पर्यटकलाई सीमा नाकामा स्वागत गर्ने तयारी गरेको छ । रसुवा नाका, तातोपानी नाका, चितवन विमानस्थलमा आउने पर्यटकहरुलाई स्वागत कार्यक्रम गरिने तयारी गरेको छ । प्रदेश सरकारले चितवनमा चलिरहेको हात्ती महोत्सवबाट नै भ्रमण वर्षको सुरुवात गर्ने योजना बनाएको छ ।
गण्डकी प्रदेशमा पनि भव्य उद्घाटनको तयारी
गण्डकी प्रदेशले भ्रमण वर्षको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ । प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्नका लागि पोखरामा विशेष कार्यक्रम गर्दैछ । भ्रमण वर्षको औपचारिक उद्घाटनका लागि गण्डकी प्रदेशका वन, उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालको संयोजकत्वमा १५ उपसमिति गठन गरिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशको ११ वटै जिल्लाबाट सांस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी छ ।
प्रदेश ५ मा ‘लुम्बिनी भ्रमण वर्ष’
प्रदेश ५ सरकारले पवित्र धार्मिक स्थल लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि ‘लुम्बिनी भ्रमण वर्ष’ घोषणा गरेको छ ।
लुम्बिनी, तिरौलाकोट, रामग्राम, देवदहलगायतका स्थलहरुलाई जोडेर भ्रमण वर्षका कार्यक्रम सञ्चालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
एक लाख पर्यटक भित्र्याउने कर्णाली प्रदेशको लक्ष्य
कर्णली प्रदेशले सन् २०२० मा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्षको योजना अघि बढाएको छ । कर्णली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढाका अनुसार भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१ सदस्यीय पर्यटन प्रवद्र्धन समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । प्रदेश सरकारले रारा, से–फोक्सुण्डो, लिमी उपत्यका, त्रिपुरासुन्दरी, पञ्चकोशी, सिञ्जा, काँक्रे विहारलगायतका क्षेत्रलाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा तोकेको छ । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष शुभारम्भका दिन जनवरी १ मा कर्णालीका १० वटै जिल्लाका साँस्कृतिक झाँकी प्रदर्शन गर्ने तयारी गरेको छ ।
सुदूरपश्चिम प्रदेशको तयारी
सुदूरपश्चिम प्रदेशले भ्रमण वर्षको उद्घाटन जनवरी १ मा धनगढीमा रहेकोे संघीय प्रहरी इकाई मैदानमा गर्नेछ । उद्घाटन समारोहमा
सुदूरपश्चिमको कला र संस्कृति झल्किन गीत तथा झाँकी प्रस्तुत गरिने सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ । सीमान नाकाबाट भित्रिने पर्यटकलाई स्वागत गरिने सुदूरपश्चिम प्रदेशले योजना बनाएको छ ।
नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने तयारी छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा राखेर बजार परिक्रममा गराउने भएको हो ।
प्रतिक्रिया दिनुहोस