aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

बुटवल पावर कम्पनीकोे नगद लाभांश र बोनस शेयर बाँड्ने प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ पुस २०७६
बुटवल पावर कम्पनीकोे नगद लाभांश र बोनस शेयर बाँड्ने प्रस्ताव पारित

काठमाडौं । बुटवल पावर कम्पनीले आ.व. २०७५/७६ को खुद मुनाफा तथा संचित मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १८ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीको बिहीबार बसेको २७औं वार्षिक साधारण सभा काठमाडौको कार्की ब्याङक्वेट, बबरमहलमा बसेको सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा बसेको सभाले उक्त निर्णय गरेको हो । 

साथै उक्त सभाले सञ्चालक समितिको प्रतिवेदन, आ.व. २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तिय विवरणहरु, आ.व. २०७६/७७ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ । 

कम्पनीले मस्र्याङ्दी नदीमा चिनिया साझेदारहरुसंग मिलेर निर्माण गर्न गईरहेको तीन जलविद्युत आयोजनाहरु -१३५ मे.वा.को मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, १३९ मे.वा. को तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजना, ३२७ मे.वा.को माथिल्लो मस्र्याङ्दी दोश्रो जलविद्युत आयोजना) क्यासकेड आयोजनाकोरुपमा निर्माण गर्नका लागि सभाले मार्ग प्रशस्त गरेको छ । 

जस अनुसार मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको २०% शेयर स्वामित्व आफ्नो नाममा कायम राखी बाँकी शेयरहरु चिनिया साझेदारहरुलाई बिक्री हस्तान्तरण गर्न तथा आफ्नो नाममा २०% शेयर स्वामित्व कायम रहने गरी तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत आयोजनाको आयोजना कम्पनी स्थापना गरी आयोजनाको निर्माण कार्य अघि बढाइने छ । 

माथिल्लो मस्र्याङ्दी दोश्रो जलविद्युत आयोजनामा यस कम्पनीको यसअघिनै २०% शेयर स्वामित्व कायम रहेको छ । उल्लेखित क्यासकेड आयोजनाहरुलाई निर्माणको चरणमा आवश्यक विद्युत आपूर्ति गर्न तथा सो पश्चात् उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्नका लागि मनाङ जिल्लामा ७.९ मेगावाट क्षमताको चिनोखोला जलविद्युत आयोजनाको अध्ययनका कार्यहरु सम्पन्न गरी निर्माणका लागि आवश्यक तयारी कार्यहरु शुरु गरिएको छ । 

हाल कम्पनीको मुख्य लगानीमा दुई जलविद्युत आयोजनाहरु निर्माणाधिन छन् । जसमा ३० मे.वा.को न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । अर्को ३७.६ मे.वा. को कावेली ए जलविद्युत आयोजनाको निर्माण कार्य ठेकेदारसंगको ठेक्का अन्त्य भएको कारण रोकिएको छ र सो आयोजनाको निर्माण कार्यलाई विश्व बैंकको कर्जा प्रवाहको अवधि थप गराएर यथासिघ्र सुचारु गर्ने तर्फ प्रयास भईरहेको कम्पनीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस