
डोटी । डोटीसहित यहाँका अन्य पहाडी तथा हिमाली जिल्लामा परेको हिमपातले अहिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको छ । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका छन् । तिनै सेताम्मे डाँडा हेर्नकै लागि भए पनि यहाँ दैनिक पर्यटकहरु भित्रिन थालेका छन् ।
हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । जिल्लाको भिग्राना, खप्तड नजिकका डाँडाकाँडालगायत भीमदत्त राजमार्गको साहुँखर्क, गैरा, हगुल्टेलगायतका ठाउँहरुमा दैनिक सयाँै भारतीय तथा आन्तरिक पर्यटकहरु आएर अवलोकन गर्ने तथा हिउँमा रमाइलो गर्न थालेको स्थानीयवासी बताउँछन् ।
हिमपातसँगै डोटीलगायत यहाँका अन्य हिमाली तथा पहाडी जिल्लाका डाँडाकाँडाहरु सेताम्मेसहित मनमोहक भएपछि यहाँका विभिन्न ठाउँहरु आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्न थालेको पर्यटन व्यवसायी तथा डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, “पर्यटक भित्र्याउनमा हिमपातले ठूलो मद्दत गरेको छ, हिउँ हेर्न र रमाइलो गर्नकै लागि सयौँ पर्यटक आउन थालेका छन् ।”
त्यस्तै जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलहरु पनि नेपाल भ्रमण वर्ष २०२० मनाउन आउने पर्यटकहरुको पखाइमा रहेका छन् । भ्रमण वर्षमा आउने पर्यटकलाई स्वागत तथा सत्कारका लागि यहाँका पर्यटन व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय तहहरु बाटो कुरेर बसेका छन् । भ्रमण वर्ष २०२० का लागि डोटी जिल्लाका विभिन्न स्थललाई पर्यटकीय गन्तव्यस्थलको सूचीमा राखिएको छ ।
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड, ऐतिहासिक सांस्कृतिक महत्व बोकेको डोटीको जिल्ला सदरमुकाम सिलगढीस्थित शैलेश्वरी मन्दिर, दिपायलमा रहेको डोटेली राजाको दरबार, बडिकेदार गाउँपालिकामा रहेको बडिकेदार मन्दिर, जोरायल गाउँपालिका–५ मा रहेको निरौली दरबार तथा छतिवनमा रहेको छतिवन ताललाई भ्रमण वर्ष २०२० को गन्तव्यस्थलको सूचीमा राखिएको जिल्ला समन्वय समिति डोटीले जनाएको छ ।
आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न सक्ने महत्वपूर्ण पर्यटकीय क्षेत्रका रुपमा रहेका ती स्थानलाई पर्यटकीय गन्तव्यका रुपमा सूचीकृत गरिएको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले जानकारी दिए । भ्रमण वर्ष २०२० भित्र करिब चार लाखभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने योजना बनाएर अघि बढे्को दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले बताए । उनले भने, “भ्रमण वर्षमा हामीले ठूलो सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गराउने योजना बनाएका छौँ, पर्यटक भित्र्याउने विभिन्न गतिविधिलाई अघि बढाएका छौँ ।”
पर्यटकीय गन्तव्यस्थलका रुपमा सूचीकृत स्थलहरुमा अहिले दैनिक सरसफाइसँगै ती स्थानसम्म पुग्न सवारीसाधन तथा अन्य आवश्यक सेवासुविधाहरुको व्यवस्थासमेत मिलाउन थालिएको जिल्ला समन्वय समितिका संयोजक ऐरको भनाइ छ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन डोटीका प्रमुख पर्यटकीय क्षेत्रहरुको देश र विदेशमा चिनाउने गरी प्रचारप्रसारलाई तीव्रता दिइएको सुदूरपश्चिम गाउँपालिका महासङ्घका अध्यक्ष दुर्गादत्त ओझा बताउछन ।
उनले भने, “हाम्रो ठाउँमा पर्यटक भित्र्याउन सक्ने पर्यटकीय क्षेत्रहरु व्यापक रहेकाले त्यसको प्रचारप्रसारसँगै पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरुसमेत बनाएको छौँ, आशा छ पर्यटक पनि सोचेअनुसार आउनेछन् ।” पर्यटकका लागि होटलहरुमा उचित बाससँगै खप्तड क्षेत्रसँगै जोडिएको झिग्रानामा घरवास ‘होमस्टे’ समेत निर्माण गरिएको डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए ।
भ्रमण वर्षमा दिपायल सिलगढी नगरपालिकाले शिखर नगरपालिकाको गहनानदेखि दिपायल सिलगढी नगरपालिका नारिदाङसम्म जलयात्रा (¥याफ्टिङ) को आयोजना गर्ने भएको छ । भ्रमण वर्षमा आएका पाहुनाहरुलाई जलयात्रा गर्न सजिलो होस् भन्ने उद्देश्यले उक्त जलयात्राको शुरुआत गरेको हो ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा पर्यटक भित्र्याउनका लागि सम्पूर्ण सडकको स्तरोन्नति गरिन थालिएको छ । सिलगढीदेखि झिग्रानासम्मको सडक कालोपत्रको काम तीव्र गतिमा जारी रहेको छ । भ्रमण वर्षमा आउने पर्यटक तथा पाहुनालाई गुणस्तरीय बास तथा व्यवस्थापन गर्नका लागि होटेल तथा रेष्टुराँ व्यवसायी रातदिन खटेर लाग्न थालेको होटेल व्यवसायी सङ्घ डोटीका अध्यक्ष राजेन्द्रविक्रम शाहीले जानकारी दिए ।
उनले भने “भ्रमण वर्ष मनाउन आउने पाहुनालाई सुविधा दिन हामी कुनै कसर बाँकी राख्ने छैनौँ, सुविधाका लागि सम्पूर्ण तयारी गरेका छौँ ।” पर्यटक आकर्षित गराउने स्थानमा खप्तड, शैलेश्वरी मन्दिर, डोटेली राजाको दरबार, निरौली दरबार, बडिकेदार मन्दिर रहेका छन् भने यहाँको कलासंस्कृतिमा हुड्के, छलिया, भुवाँ नाच, डेउडालगायतका रहेको शैलेश्वरी मन्दिरका पुजारी प्रेमशङ्कर भट्टले जानकारी दिनुभयो । उनले भने, “हामीसँग असङ्ख्य कला संस्कृति छ, हामीले ती क्षेत्रको मात्रै प्रचारप्रसार गर्न सके पर्यटक जति नि भित्र्याउन सक्छौँ ।”
बडिकेदार र शैलेश्वरी मन्दिरको दर्शन तथा पूजा गरेमा चिताएको वर मिल्छ भन्ने मान्यताअनुसार दैनिक सयौँ भक्तजन आउने गरेकोसमेत पुजारी भट्ट बताउछन । प्रदेश सरकारले भ्रमण वर्षका लागि लक्षित गरी कुनै ठोस कार्यक्रम यहाँ तय नगरे पनि निजी क्षेत्रका व्यापारी भने आफ्नै लगानीमा भ्रमण वर्ष सफल पार्न अग्रसर रहेको डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, “सरकारले कार्यक्रम तय गरेन भनेर चुप लाग्नुभन्दा हामीले आफ्नो क्षेत्रबाट के गर्न सक्छौँ भनेर सबैले लाग्नुपर्ने अवस्था छ, हामी आफ्नै लगानीमा भ्रमण वर्ष सफल पारेरै छोड्छौँ ।”
हिउँले लम्बियो विदेशी पर्यटकको बसाइ
यतिबेला उच्च पहाडी क्षेत्रमा हिउँ परेर डाँडाहरु सेताम्मे बनेका छन् । नेपाल भ्रमण वर्षको शुरुआतदेखि नै परेको हिउँ अझै पनि बिलिएको छैन । हिउँ हेर्न र खेल्नकै लागि जिल्लाको तल्लो भेग र सदरमुकामलगायतका पर्यटक उच्च पहाडी क्षेत्र गएर मनोरञ्जन लिइरहेका छन् । इलामको पर्यटकीयस्थल सन्दकपुर क्षेत्र र पाँचथरको पर्यटकीयस्थल साधुटार, पौवा भञ्ज्याङ लगायतका स्थानमा हिउँ खेल्न पर्यटकको भीड लागेको छ ।
गत सातादेखि नै परेको हिउँ अझै पनि बिलाएको छैन । लामो समयसम्म हिउँ डाँडामा रहँदा चिसो त बढेको छ नै तर पर्यटकहरुलाई घुमफिरमा अझ हौसला बढाएको छ । हिउँ परेसँगै यतिबेला पहाडी क्षेत्रमा सडक तथा खुला क्षेत्रल तथा डाँडापाखामा सेताम्मे हिउँ जम्मा भएको छ । पाँचथरको पौवाभञ्ज्याङ आसपासका घरका छाना, रूख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्मे बनेको छ ।
बढ्दो चिसोसँगै स्थानीयवासीको जनजीवन केही कष्टकर बने पनि त्यस क्षेत्रमा पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँ मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सँगालिरहेका छन् ।
हिउँ नदेखेकाहरुका लागि त नयाँ नै हुने भयो तर बाक्लो हिउँमा कारण खेल्ने र रमाउनेहरुलाई पनि नयाँ अनुभूति मिलेको छ । घुम्न आएका पर्यटक बिहानदेखि हिउँमा खेल्दै, फोटो खिच्दै रमाउने गरेका छन् । पहिलोपटक साधुटार हिउँ खेल्न पुगेका पर्यटक धेरै रमाइलो भएको भन्दै हिउँमा गुडुल्की मारिरहेका छन् । आन्तरिकमात्र हैन सन्दकपुर, साधुटार लगायतका पर्यटकीयस्थलमा हाल उत्तिकै सङ्ख्यामा विदेशी पर्यटकहरुसमेत रमाइरहेका हुन्छन् । हिउँले विदेशी पर्यटकहरुको बसाइ लम्याइदिएका एक विदेशी पर्यटकले बताउनुभयो ।
हिउँ परेपछि सडकमा आवतजावत सवारीसाधनमा भने समस्या आएको छ तर हिउँसँग खेल्न र रमाउने पर्यटक भने बढ्दै गएका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्मे भएका छन् । हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् । यस क्षेत्रमा घरबाहिर निस्कने अवस्था नभएकाले धेरैले आगो तापेरै दिन बिताउने गरेका छन् । बाक्लो हिउँ जमेकाले केही दिन सवारीसाधन चल्न कठिन भएको छ । रासस
प्रतिक्रिया दिनुहोस