aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

डेढ करोडका अवैध मोबाइल तस्करी

  • पुनहरि बेल्बासे
    पुनहरि बेल्बासे
  • विहीबार, ०९ माघ २०७६
डेढ करोडका अवैध मोबाइल तस्करी

भैरहवा । भारतसँग सीमा जोडिएका रुपन्देहीका विभिन्न नाकाबाट तस्करी भइरहेको पाइएको छ । रुपन्देहीदेखि ५० बढी सुरक्षा जाँचपोष्ट क्रसिङ गर्दै काठमाडौं पुगेका दुई जनालाई अवैध मोवाइलसहित महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले पक्राउ गरेपछि रुपन्देहीको नाका प्रयोग गरी तस्करी भइरहेको खुलेको हो । झण्डै डेढ करोडको अवैध मोबाइल प्रहरीले बुधबार बिहान अँधेरैमा बरामद गरेको हो ।

विभिन्न कम्पनीका ६३४ थान मोवाइलसहित काठमाडौं ३४ का ४० वर्षीय उमेश भट्ट र सिन्धुपाल्चोक शिखरपुर १ का इन्द्रबहादुर कटुवाललाई नागढुंगा प्रहरीले पक्राउ गरेको हो । चन्द्रागिरी २ को चेकप्वाइन्टमा भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको डिएल २ सीएटी ७०१७ नम्बरको कारबाट डेढ करोड मूल्य बराबरका मोबाइलसहत दुईजनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

एयर ब्याग, सिट, डिकी लगायतलाई फल्स बटमको रुपमा प्रयोग गरी सामसङ, ओप्पो, आइफोन, लेनोभो, नोकिया, हुवाई, नोकियालगायत १८ ब्राण्डका ६३४ वटा मोवाइल इनोभा ब्राण्डको खरानी रंगको कारभित्र राखेर उनीहरुले लगेका थिए । मोवाइलसँगै एलसिडी तथा टच स्क्रिन कभर पनि बरामद भएको छ ।

मोवाइलहरुको अनुमानित बजार मूल्य १ करोड ५० लाख रहेको प्रहरीले जनाएको छ । उक्त मोबाइलको बिल भर्पाई केही नभएपछि पक्राउ गरेको प्रहरी भनाई छ । रुपन्देहीको सीमा क्षेत्रबाट तस्करी बढेको समाचारहरु बाहिरिँदा समेत बेवास्ता गर्दै आएको रुपन्देही प्रहरीकै मिलेमतोमा ती मोबाइल नेपाल भित्र्याइएको हुनसक्ने भैरहवा भन्सार कार्यालयका एक कर्मचारीले बताए ।

नागढुंगा प्रहरीले पक्राउ परेका ती दुईजना मोबाइल कारोबारी रहेको जनाएको छ । यसअघि उनीहरुले रुपन्देहीका सीमानाकाबाट मोवाइल तस्करी गर्दै आएको स्रोत बताउँछ । बरामद भएका कतिपय मोवाइल पुराना पनि छन् । पक्राउ परेकामध्ये भट्ट दृष्टिविहीन हुन् । शारीरिक रुपमा अशक्तलाई प्रयोग गरी तस्करहरुले रुपन्देहीबाट मोवाइल जस्तै अन्य महंगा महंगा सामग्रीहरु पनि भारतीय बजारबाट तस्करी गर्दै आएका छन् ।

मानवीय हिसाबले पनि प्रहरीले दृष्टिबिहीनहरुलाई चेकजाँचमा त्यती कडाइ गर्दैन । यसैको मौकामा रुपन्देही प्रहरीको मिलेमतोमा सीमा क्षेत्रबाट तस्करी हुने गरेको सशस्त्र प्रकारीका एक अधिकृत बताउँछन् । अहिले जिल्लाका अधिकांश नाकाहरुबाट, मोबाइल, मोटरपार्टस, प्याज, हार्डवेयर, उपभोग्य सामग्री अशक्तहरुलाई प्रयोग गरी तस्करी हुँदै आएको छ ।

सो सम्बन्धमा भैरहवा भन्सार प्रमुख कमलकुमार भट्टराईले उक्त सामग्री एकैपटक नेपाल भित्रीएको नभई चोरी तस्करी गर्नेहरुले मूल भन्सार नाकाभन्दा बाहिरबाट नेपाल भित्राई लगेको हुन सक्ने बताए । उनले भने–‘उक्त गैरकानूनी काम रोक्ने जिम्मेवारी प्रहरी प्रशासनको काम हो ।’

प्रतिक्रिया दिनुहोस