
काठमाडौं । निकै तामझाका साथ गरिएको नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमै करिव ३ करोड सकिएको छ । उद्घाटनमा २ करोड लाग्ने बताइए पनि जथाभावी खर्च गरेका कारण करिव २ करोड ९५ लाख खर्च लागेको हो । मनग्य खर्च गरेर नेपाल भ्रमण वर्षको उद्घाटन गरिएपनि त्यसपछि भने त्यस्तो कार्यक्रम सफल बनाउन कुनै तयारी गरेको पाइएको छैन् ।
यो वर्ष २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ जनवरी १ मा विशेष समारोहबीच काठमाडौंको दशरथ रङ्गशालाबाट गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक शुभारम्भ गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित भएका थिएनन् ।
प्रधानमन्त्री ओली विशेष कारणबस उपस्थित हुन नसकेको बताएपनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको टसलका कारण उपस्थित भएका थिएनन् । पूर्वप्रधानमन्त्री माधव नेपाल गुट तर्फबाट मन्त्री भएका भट्टराई र प्रधानमन्त्री ओलीबीच सामान्य बोलचालसम्म पनि हुन छाडेको छ ।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा बिभिन्न देशका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आएका थिए । विदेशी सञ्चारमाध्यका प्रतिनिधिको पनि उक्त अवसरमा सहभागी थिए । उद्घाटन कार्यक्रममा मार्चपास र विविध सांस्कृतिक प्रस्तुति गरिएको थियो । आफ्ना आसेपासे व्यक्तिलाई मन्त्री भट्टराईले ठूलो रकम बाँडेकाले पनि सो कार्यक्रममा धेरै खर्च भएकाले उद्घाटनमै २ करोड खर्च हुन गएको बताइएको छ ।
नेपालको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित सरकारले नेपाल भ्रमण वर्ष मनाउन लागेको हो । एक वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले राखेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार सन् २०१८ मा ११ लाख ७३ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यसैगरी, सन् २०१९ मा १२ लाख विदेशी पर्यटक नेपाल घुम्न आएका थिए ।
उद्घाटनमा नेपाल पर्यटकीय हिसाबले सुरक्षित र आकर्षक गन्तव्य हो भन्ने सन्देश विश्वमा प्रवाह गरिएको बताइएको थियो । तर, सन्देश प्रवाह गर्न के के माध्यम प्रयोग गरियो भन्ने बारेमा केही जानकारी गराइएन् । सरकारले भ्रमण वर्षका लागि ६१ करोड ७४ लाख बजेट स्वीकृत गरिसकेको छ । तर, त्यो बजेट पनि उपयुक्त काममा लगाइने बारेमा पनि शंका व्यक्त गर्न थालिएको छ ।
पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधार मध्येका एक बनाउने सरकारको योजना बनाएको छ । पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा करिब ३ प्रतिशत योगदान रहेको छ । सरकारले १५ औं पञ्चवर्षीय योजना सम्पन्न हुदाँसम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य राखेको छ ।
नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवकै रुपमा लिइएको थियो । उक्त दिन सरकारी कार्यालय तथा सर्वसाधारण व्यक्तिलाई पनि दिपावली गर्न आब्हान गरिएको थियो । दिपावलीको उज्यालोले नयाँ यात्राको संकेत गर्ने बताइएको थियो ।
अबको यात्रा उज्यालै उज्यालोतिर उन्मुख हुने छ भन्ने सन्देश दिने त्यसो गरिएपनि उद्घाटनपछि भने नेपाल भ्रमणवर्ष सुस्ताएको छ । निकै तामझाममाझका साथ नेपाल भ्रमणवर्ष उद्घाटन गरेर रकम खर्च गरे पनि लक्ष्य अनुसारको काम भने हुन सकेको छैन् । न प्रचारप्रसारलाई तिब्रता दिइएको छ न त विदेशी पर्यटकलाई यो क्षेत्र हेर्न यस्तो सुविधा छ भनिएको छ ।
प्रतिक्रिया दिनुहोस