aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

काठमाडौं शहरलाई सुन्दर बनाउने योजना, अब अप्टिकल फाइबर सडकमुनि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १९ माघ २०७६
काठमाडौं शहरलाई सुन्दर बनाउने योजना, अब अप्टिकल फाइबर सडकमुनि

काठमाडौं । काठमाडौंलाई मन्दिरहरुको शहर भनेर चिनिने गरिन्छ । तर यदि कोही पर्यटक वा पैदलयात्रुहरुले काठमाडौं उपत्यका घुम्न आएमा उसलाई शुरुमा काठमाडौंको धुँवा, धुलो र बिग्रेको सडकले स्वागत गरिदै आएको छ । त्यसपछि तारैतारको कुरुप जालोले उसलाई आफूमा केन्द्रित गराउँछ । यसले काठमाडौं मन्दिरको सहर होइन कि यो त लथालिङ तारले कुरुप बनाइएको काठमाडौं शहर भनेर पर्यटकले चिन्ने गरेका छन ।

किन सडक कुरुप देखिन्छ भन्ने प्रश्नमा ? दर्जनौं कारणहरुमध्ये पहिलो कारण भने अस्तव्यस्त र भद्रगोल तार । यस्तो कुरुपता काठमाडौंका विभिन्न ठाउँमा ठड्याइएका पोलमा देख्न सकिन्छ । यसले दिनप्रतिदिन शहरको सभ्यतालाई कुरुप बढाइरहेको छ भने विभिन्न किसिमको दुर्घटनालाई पनि निम्ताई रहेको छ । 

अहिले पोलहरुमा झुन्डिएका विजुली, टेलिभिजन, टेलिफोन र इन्टरनेटका तारको गुजुल्टोले शहरलाई जति अशोभनीय देखाएको छ, त्योभन्दा बढी दुर्घटनाको जोखिम बढाएको छ । यसलाई हटाउने गरी काम शुरु गर्न लागिएको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । शुरुआतमा महाराजगञ्ज क्षेत्र र सिहंदरबारबाट धोबीखोला जाने फिडरको लाइनको तार भूमिगत गर्न अहिले तयारी भइरहेको जानकारी दिए ।

शहरको सौन्दर्यमा टेवा पुग्ने
तार भूमिगत गर्ने प्रणालीले शहरको सौन्दर्यमा पनि टेवा पुग्छ भने वितरण व्यवस्था चुस्त बन्ने  प्रवक्ता अधिकारी बताउँछन् । भविष्यमा देशका सबै भागमा वितरण व्यवस्थामा यो तार भूमिगत प्रणाली जडान गर्ने सरकारी लक्ष्य समेत रहेको जानकारी दिए ।

तार भूमिगत गरिएसँगै दुई वितरण केन्द्र अन्तर्गतका करिव ९० हजार ग्राहकका घरमा स्मार्ट मिटरसमेत जडान गरिने छ । वितरण प्रणालीलाई भूमिगत गर्नुका साथै अप्टिकल फाइबर बिच्छाउने र बिजुली वितरणको तथ्यांक राख्न बेग्लै केन्द्र, दुई वितरण केन्द्रमा ९० हजार थान आधुनिक (स्मार्ट मिटर) जडान गरिने योजना छ । 

दोस्रो चरणमा अन्य महानगरपालिका र उपमहानगरपालिकामा भूमिगत लाइनलाई आधुनिकीकरण र स्मार्ट मिटर जडान गर्ने योजना प्राधिकरणको छ । यो आयोजनाका लागि एसियाली विकास बैंक (एडीबी) ले ऋण सहयोग गरेको छ । यो आयोजनामा एडीबीले १५ करोड अमेरिकी डलर ऋण दिने भएको प्राधिकरणले जानकारी दिएको हो ।

 काठमाडौंमा तारलाई भूमिगत गर्ने कामको थालनी हुने
नेपाल विद्युत प्राधिकरणले काठमाडौंमा विद्युत वितरण प्रणालीलाई भूमिगत  गर्ने कामका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता गरिसकेको छ । ठेकेदार कम्पनीले भूमिगत वितरण प्रणालीको डिजाइन, समान आपूर्ति, जडान र सञ्चालन गर्ने छ । 

३२ महिनाभित्र पहिलो चरणमा काठमाडौंको उत्तरी क्षेत्र महाराजगञ्ज र मध्यक्षेत्र रत्नपार्क वितरण केन्द्र अन्तरगत तार भूमिगत गरिसक्ने योजना छ । यसका लागि निर्माण मेसिन, उपकरण र सरसामान आईसकेको छ । योजना अनुरुप अनुरुप काम भयो भने अबको आउने हप्ताभित्र काठमाडौंमा पहिलोपटक तारलाई भूमिगत गर्ने कामको थालनी हुने प्रवक्ता अधिकारीले बताए ।

प्राधिकरणले महारजगञ्ज वितरण केन्द्र अन्तरगतको काममा २ करोड ५५ लाख ८१ हजार अमेरिकी डलर र १ अर्ब १ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । रत्नपार्क वितरण केन्द्र अन्तर्गतको काम २ करोड २९ लाख डलर र ८३ करोड १५ लाख रुपैयाँमा सम्झौता भएको छ ।

अप्टिकल फाइबर सडकमुनि 
यो परियोजना अन्तरगत करिब २५० किलोमिटर लामो तार बिछ्याइने छ । त्यसपछि विजुलीका पोलहरु हटाइनेछ । प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले प्रयोग गर्न सक्ने गरी  ठूलो क्षमताको अप्टिकल फाइबर पनि सडकमुनि बिछ्याउने जानकारी अधिकारीले दिए । 

सडक विभागसँग तार भूमिगत गर्न सडक उपयोग गर्नेबारे छलफल भइरहेको र सहमति नजिक पुगेको अधिकारीले जानकारी दिए । सबै प्रक्रिया पुरा गरेर ठेकेदारलाई काममा जान आउँदो हप्ताको समय लाग्न सक्ने उनले बताए ।

यस्ता छन् वितरण केन्द्र
काठमाडौंको पूर्व तथा दक्षिणमा पर्ने वागबजार, असन, दरबारमार्ग लगायत रत्नपार्क वितरण केन्द्रले समेटेका क्षेत्र र मध्य तथा उत्तरमा वालुवाटार, गंगबु, सामाखुसी लगायतका महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत पर्ने क्षेत्रमा पर्ने विद्युत वितरण प्रणालीलाई भूमिगत तथा स्वचालित बनाउन लागिएको हो । पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रका मुख्य सडकमा ११ केभी र ४ सय भोल्टका प्रणालीलाई भूमिगत र आधुनिकीकरण (अटोमेसन) गरिँदैछ । चपली क्षेत्रबाट कामको सुरुआत गर्न तयारी भइरहेको अधिकारी बताउँछन् ।
 

प्रतिक्रिया दिनुहोस