
काठमाडौं । आइसीसी क्रिकेट वर्ल्डकप लिग–२ अन्तर्गत् ओमानविरुद्धको खेलमा नेपालले १९८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा ओमानले निर्धारित् ५० ओभरमा ९ विकेटको क्षतिमा १९७ रन बनाएसँगै नेपालले १९७ रनकाे चुनाैती सामाना गर्नु परेकाे हाे ।
ओमानका लागि मोहम्मद नदीमले सर्वाधिक ६९ रन बनाए । यसैगरी, सन्दीप गौडले ३३ रन तथा नसिम खुशीले २८ रनको योगदान दिए ।
बलिङतर्फ नेपालका करण केसीले ४ तथा सुशन भारीले ३ विकेट लिए । १० ओभरमा ४५ रन खर्चिएका सन्दीप लामिछाने भने विकेटविहीन रहे ।
जवाफमा १९८ रनको लक्ष्य लिएर नेपालले आफ्नो ब्याटिङ गरिरहेको छ । घरेलु टोलीले कप्तान एवं सुरुआती ब्याट्सम्यान ज्ञानेन्द्र मल्ललाई १ रनमा तथा पारस खड्कालाई ३ रनको व्यक्तिगत स्कोरमा गुमाएको छ ।
त्रिकोणात्मक शृंखलामा नेपाल र ओमानसँगै अमेरिका पनि सहभागी छ । हरेक टोलीले एकापसमा दुई/दुई खेल खेल्नेछन् । विश्वकप क्रिकेट लिग–२ लाई सन् २०२३ मा हुने एकदिवसीय विश्वकप क्रिकेटको छनोटको रुपमासमेत हेरिएको छ ।
७ टोली सहभागी यो प्रतियोगिताका शीर्ष तीन टोलीले विश्वकप छनोट प्रतियोगिता खेल्ने अवसर पाउनेछन् ।
अहिलेसम्म ८ खेलबाट १२ अंक जोडेको अमेरिका तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट ९ अंक जोडेको स्कटल्यान्ड दोस्रो स्थानमा छ । ७ खेलबाट ८ अंक जोडेको नामिबिया र ६ खेलबाट ८ अंक जोडेको ओमान तेस्रो र चौथो स्थानमा छन् । पाँचौं स्थानको युएईले ७ खेलबाट ७ अंक जोडेको छ ।
नेपालले एउटा पनि खेल खेलेको छैन भने ८ खेल खेलेको पपुवा न्यूगिनीले अंक जोड्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस