
काठमाडौँ । भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने सपना नै आकाशको फल बन्ने सम्भावना देखिँदै गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वार्षिक १ करोड विदेशी पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य रहेको बताएका छन् ।
बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सहभागीलाई पत्याउनै गाह्रो पर्ने यस्तो अभिव्यक्ति दिएका हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको कार्यक्रममा मन्त्री भट्टराईले वार्षिक २० लाख मात्रै नभई १ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ काम भइरहेको दाबी गरे । उनले भने ‘आउने ५ वर्षमा नेपाल पूर्वाधारका हिसाबले ठुलो फड्को मार्छ । यसले नेपालको पर्यटन क्षेत्रमा असाध्यै महत्त्वपूर्ण भूमिका खेल्दछ । आज २० लाख पर्यटक सङ्ख्या ठुलो नभए पनि ल्याउन धौ धौ छ । जब हामी आन्तरिक र बाह्य विमानस्थलको स्तर उन्नति गर्छौँ तब नेपालमा वार्षिक एक करोड पर्यटक नेपाल घुम्न आउने छन् ।'
हाम्रा ५४ वटै विमानस्थलको अवस्था कस्तो छ भन्ने आइसकेको छ । ५ वर्षमा कति काम सक्नुपर्ने रहेछ भन्ने थाहा भएको हुनाले अब आफूसँग विश्राम गर्ने समय नभएको उनले बताए । उनले भने, 'हामीले अहिले थोरै विश्राम लिऊँ भने पनि भनेको ठाउँमा पुग्दैनौ ।' निजगढ विमानस्थल सिङ्गो नेपालीहरूको सपना भएकोले सरकारले अर्जुन दृष्टि लगाएर काम गर्ने उनले बताए । उक्त विमानस्थलमा अबको ५ वर्षमा व्यावसायिक उडान गर्ने उनको भनाई थियो।
काठमाडौँको चापबाट मुक्ति पाउनको निम्ति निजगढ विमानस्थल नबनाई सुख नरहेको उनको धारणा थियो। सँगसँगै दुर्गम भेगका नागरिकलाई पनि सेवा दिनु पर्ने अवस्था रहेको उनले बताए । हिमाली र पहाडी जिल्लाका विमानस्थलको पनि स्तर उन्नति गर्ने र त्यसमा नियमित उडान भर्ने कुरामा आफ्नो ध्यान रहने उनले बताए । तराई क्षेत्रको विमानस्थलमा जुनसुकै बेलामा पनि उडान गर्न सक्ने अवस्थामा रहेको उनले जानकारी दिए ।
विमानस्थल निर्माणमा लागेको रकम त्यहीँबाट उठाउने गरी आत्मनिर्भर हुनुपर्नेमा उनले जोड दिए । एकातिर हामी सेवा दिन्छौ भन्ने तर अर्को तिर त्यसले व्यवसाय पनि गर्ने काम एकसाथ गर्नु पर्ने उनको राय थियो ।
प्रतिक्रिया दिनुहोस