aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

मुस्ताङमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २३ माघ २०७६
मुस्ताङमा तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप

काठमाडौं । नेपाल स्की संघको आयोजनामा मुस्ताङको मुक्तिक्षेत्रमा  तेश्रो राष्ट्रिय स्की च्याम्पियनसीप सम्पन्न भएको छ । हिउँ पर्यटक प्रर्वद्धन, स्की खेलको विकास तथा सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० वर्ष सफल पार्न स्की संघले च्याम्पियनसीप आयोजना गरेको हो । 

आइतबार र सोमबार भएको स्की च्याम्पियनसीपमा ४ जिल्लाका ३३ खेलाडी सहभागी भएका थिए । स्कीका ३ विधालाई मुख्य आधार बनाएर खेलाइएको च्याम्पियनसीपमा हिउँमा खेल्ने खेलाडीलाई एकआपसमा प्रतिस्पर्धा गराइएको थियो । 

च्याम्पियनसीपको क्रस कन्टी विधातर्फ महिला खेलाडी सुजता नामपुर प्रथम भइन् भने ईशा तामाङ दोश्रो भइन् । यसका अतिरिक्त क्रस कन्टीमा थुप्तेन लामा र चिनार तामाङ तेश्रो र चौथो भए । यस्तै स्नो बोडिङ स्कीतर्फ विशाल तामाङ प्रथम, नविन तामाङ दोश्रो र छिरिङ तामाङ तेश्रो भए । 

अल्पाइन स्कीतर्फ सिनियर र जुनियर गरी २ समुहमा पुरुष र महिलाबीच अलग–अलग प्रतिस्पर्धा गराइएको थियो अप्लाइन स्कीको सिनियर पुरुषतर्फ साहसराम श्रेष्ठ प्रथम, सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेश्रो भए । महिला सिनियर अल्पाइनतर्फ गौरीमाया तामाङ प्रथम, संगिता लामा दोश्रो र लक्ष्मी राई तेश्रो भइन् ।

 अप्लाइन स्कीको जुनियर पुरुषतर्फ सागर तमाङ प्रथम, उमङ्ग रञ्जित दोश्रो र किरण रञ्जित तेश्रो भए । महिलातर्फ लाक्पा डोल्मा शेर्पा प्रथम, आरसी महर्जन दोश्रो र उजला मुनिकार तेश्रो भइन् । विजेता खेलाडीहरुलाई सोमबार मुस्ताङ्गमा भएको कार्यक्रममा नेपाल ओलम्पिक कमिटि तथा नेपाल स्की संघका अध्यक्ष समेत रहेको सासद जीवन राम श्रेष्ठ सहित राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, प्रदेश सांसद महेन्द्रबहादुर थकाली लगायतले संयुक्त रुपमा मेडल तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

  स्की च्याम्पियनसीपको समापन समारोहमा बोल्दै स्की संघ अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले नेपाली खेलाडीलाई माउन्टेन अनुकुल खेलको तालिम संञ्चालन गरी  अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी गराउने संघको मुख्य उद्देश्य रहेको बताए । 

त्यस्तै राखेपका उपाध्यक्ष  तिमिल्सिनाले बेमौसमे सिजनमा हिउँसंग जोडेर खेलाइने खेलको विकासले नेपालको पर्यटनक्षेत्रलाई योगदान पुग्ने बताउनु भयो । कार्यक्रममा गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकाली, स्की संघका महासचिव विजय श्रेष्ठ, वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष फेञ्चोक छेप्तेन गुरुङ, प्रजिअ वेदप्रसाद अर्याल र संघका उपाध्यक्ष माधव अर्याल लगायतले नेपालमा स्की खेलको संम्भावना, पर्यटन विकास र यसको चुनौतिका बिषयमा आ–आफ्ना धारण राख्नु भएको थियो ।

च्याम्पियनसीपका लागि मुक्तिक्षेत्रको सेताम्मे हिउँमा २ दिनसम्म खेलाडीलाई प्रशिक्षण गराइएको स्की संघका महासचिव विजय श्रेष्ठले बताए । स्की अभ्यासका लागि क्याप्टेन बुद्धिप्रसाद गुरुङ, रामबहादुर गुरुङ, शेरबहादुर गुरुङ र क्याप्टेन धुब्र सेन खटिएका थिए । 

नेपाल स्की संघले मुस्ताङमा सम्पन्न गरेको स्की च्याम्पियन २०७६ संगै ३ वटा संस्करण पुरा गरेको छ । संघले पहिलो स्की रसुवाको क्यान्जेन भ्यालीमा गरेको थियो भने दोश्रो र तेश्रो मुस्ताङमा भएको हो । 
 

प्रतिक्रिया दिनुहोस