काठमाडौं । हाल दुई वटा आयोजना निर्माण गरिरहेको साञ्जेन जलविद्युत कम्पनी रू. ९५ लाख ३६ हजार घाटामा रहेको छ ।
आइतवार दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीको गत वर्षभन्दा यस वर्ष घाटा बढी भएको हो । गत वर्ष यसै अवधिमा कम्पनी रू. १८ लाख २१ हजार घाटामा रहेको थियो ।
कम्पनीको कुल सम्पत्ति रू. ६ अर्ब ९६ करोड २७ लाख ६३ हजार छ । यस कम्पनीले रसुवा जिल्लामा १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
माथिल्लो साञ्जेनको ८५ प्रतिशत र साञ्जेन जलविद्युतको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको कम्पनीले जानकारी दिएको छ । आयोजना प्रभावित स्थानियका लागि जारी गर्न बाँकी रहेको १० प्रतिशत शेयर यसै आर्थिक वर्षभित्र जारी गर्ने योजना कम्पनीको छ ।
माथिल्लो साञ्जेन जलविद्युत अयोजना २०७७ असार मसान्तभित्र र साञ्जेन जलविद्युत आयोजना आर्थिक वर्ष २०७७÷७८ भित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । यी जलविद्युत आयोजनाबाट बार्षिक रू. ३२ करोड ४३ लाख ५ हजार युनिट विद्युत उत्पादन गरी नेपाल विद्युत प्राधिकरणलाई विक्री गरिनेछ ।
यसबाट प्राप्त आयलाई आयोजना निर्माण अवधिको व्याज सहितको कर्जा भुक्तानी गर्न, शेयरधनीहरुलाई प्रतिफल दिन र नयाँ आयोजनाहरुको अध्ययन तथा विकास गर्नमा खर्च गर्दै जाने योजना कम्पनीले बनाएको छ । साञ्जेन जलविद्युतको व्याज वाहेकको शुरु लागत अनुमान रू. ५ अर्ब २ करोड ४२ लाख र माथिल्लो साञ्जेन जलविद्युत आयोजनको रू. २ अर्ब २१ करोड ८० लाख रहेको छ । यो लागत अनुमान २०६८ वैशाखमा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस