aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

टेलिकममा उच्च गतिको डाटा र भ्वाइस सेवा शुरु, ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ३० चैत्र २०७५
टेलिकममा उच्च गतिको डाटा र भ्वाइस सेवा शुरु, ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध

सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट जनकपुरमा एफटीटीएचमार्फत उच्च गतिको डाटा र भ्वाइस सेवा शुरु गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले शुक्रबार जनकपुरधाममा नेपाल टेलिकमको एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गगरेका थिए । दूरसञ्चार कार्यालय जनकपुरको प्राङ्गणमा आयोजित सो कार्यक्रममा मन्त्रीले एफटीटीएचमार्फत प्रदेश नम्बर २ का सचिव दीपक सुवेदीलाई टेलिफोन कल गरी सेवाको औपचारिक रुपमा शुभारम्भ गरे ।

उक्त कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले डिजिटल नेपालको अवधारणालाई साकार बनाउदै राष्ट्रको आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्नका लागि नेपाल टेलिकमले सधैँ सरकारलाई साथ दिनुपर्ने बताए । उनले आगामी वर्ष धेरै आयोजनाहरु सम्पन्न गर्नुपर्ने भएकाले नेपाल टेलिकमको लागि समृद्धिको वर्ष हुने र कम्पनीको सेवाप्रति आम ग्राहकको उच्च आस्थालाई निरन्तरता दिनका लागिसमेत कम्पनी थप ग्राहकमुखी हुदै जानुपर्ने बताए ।

सो शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मुलुकको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिलाई सफल वनाउन आफ्नो क्षेत्रबाट सशक्त योगदान दिन नेपाल टेलिकम कटिबद्ध रहेको बताए ।

सोही अवसरमा नेपाल टेलिकमको वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवा विस्तार कार्य समयमा नै सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

जनकपुरमा हाल दुई हजार लाइनको एफटीटीएच जडित क्षमता रहेकोमा २४० लाइन वितरण भैसकेको र निकट भविष्यमा थप लाइन जडान र वितरण गर्ने कार्यक्रम रहेको छ । जनकपुर क्षेत्रमा ८ एमबीपीएस देखि ५५ एमबीपीएस सम्मको इन्टरनेट उपलब्ध गराइने छ । वित्तीय संस्थाहरुलाई लिज लाइनको व्यवस्था पनि फाइबरबाट उपलब्ध गराइने छ ।

एक वर्षका लागि ८ एमबीपीएसको प्याक ८ हजार ५ सय रुपैयाँमा उपलब्ध गराइने छ । यसवापत एक थान वाइफाई राउटर र एक सय मिटरसम्म फाइबर निःशुल्क उपलब्ध गराइने छ । नयाँ लाइन जडानको समयमा भ्वाइस सेवा तीन महिनाका लागि निःशुल्क उपलब्ध गराइने छ ।

हाललाई यो सुविधा जनकपुरको भानुचोकदेखि शुभचोक, रेलवे स्टेसन, वकिल टोल एरिया र विद्यानगर सम्म उपलब्ध गराइने छ । यस्तै जनकपुर चुरोट कारखाना पूर्व गेटदेखि पिडारी चोक पूर्वसम्म परिक्रमा सडकमा र जनकचोकदेखि भानुचोक सम्म मेनरोडमा उपलब्ध छ । निकट भविष्यमा अरु क्षेत्रमा पनि नेटवर्क विस्तार गर्ने कार्यक्रम रहेको छ ।

नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस