
काठमाडौं । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन गरेकै दिन ५ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ मनाइएको नेपाल भ्रमण वर्षको पहिलो दिन अर्थात् जनवरी १ मै ५ हजार ३ जना ९३ जना विदेशी पर्यटक हवाइ मार्गमार्फत नेपाल भित्रिएका हुन् ।
भ्रमण वर्षको पहिलो जनावरी र फेब्रुअरी महिनामा पनि लक्ष्य अनुसारको पर्यटक भित्र्याउन सकिराखेको छैन । नेपाल सरकारले लिएको भ्रमण वर्ष २०२० को पहिलो जनावरी महिनामानै पर्यटकको लागि भयाभव स्थिति देखिएको थियो । जनावरी महिनामा १ लाख पर्यटक भित्र्याउने लक्ष्य पर्यटन बोर्डले लिएको थियो तर, गत वर्ष भन्दा यस वर्ष पर्यटक घटेको देखिन्छ । जनवरी र फेबु्रअरीमा गरी जम्मा १ लाख ५८ हजार ३ सय ३७ पर्यटक नेपाल भित्रिएका छन् । कोरोना भाइरसको समस्या समाधान नभए यो संख्या अझ घट्ने निश्चित छ ।
गत वर्षको फेब्रुअरीमा ७५ हजार ६ सय जना पर्यटक नेपाल भ्रमणमा आएका थिए भने चालु आर्थिक वर्षको फेब्रुअरीमा ७७ हजार ६४ जना बाह्य पर्यटक नेपाल आएको बोर्डका सूचना अधिकारी मणिराज लामिछानेले बताए ।
गत वर्ष जनावरी महिनामा ८१ हजार २ सय ७३ जना पर्यटक नेपाल भित्रिएका थिए । यो वर्ष ७९ हजार ६ सय ८६ जना पर्यटक नेपाल आएका छन् । गत वर्षको जनावरी महिनाको तुलनामा यो वर्ष २ प्रतिशतले पर्यटक घटेका छन् । गत वर्षको तुलनामा यो वर्ष ३०÷३१ प्रतिशतले पर्यटक बढ्ने आशा पर्यटन बोर्डको थियो । तर, लक्ष्य अनुसार पुग्न सकेको छैन ।
कोरोना भाइरसको त्रास फैलिरहदा पनि चीनियाँ पर्यटक नेपाल आउने क्रम बढ्दो छ । गत वर्षको भन्दा यो वर्ष ३ प्रतिशतले चाइनिज पर्यटकको वृद्धि भएको पाइन्छ । २०१९ को जनावरी महिनाभन्दा २०२० को जनावरी महिनामा चाइनाबाट नेपाल भ्रमण गर्न आउनेको संख्या वृद्धि भएको छ ।
गत वर्षको जनावरी महिनामा चाइनाबाट १२ हजार ९ सय १६ जना नेपाल आएका थिए भने यो वर्षको जनावरी महिनामा १३ हजार ३ सय ३ चाइनिज पर्यटक नेपाल भ्रमणमा आएका छन भने फेब्रुअरीमा ३२ सय ८५ जना पर्यटक नेपाल भ्रमणमा आएको बोर्ड लामिछानेले जानकारी दिए ।
उनले भने ‘चाइनामा कोरोना भाइरस आउनुभन्दा पहिला नै चाइनिज पर्यटकहरूले आफ्नो ग्रुपको लागि ठाउँ बुकिङ गरेको हुनाले उनीहरु आएका हुन् । चाइनिज पर्यटक नेपाल आए पनि युरोपियन मार्केट भने घटेको छ ।’ कोरोना आउनु भन्दा पहिला चाइनाबाट हप्तामा ६५ वटा फ्लाइट आउने गरेको थियो । अहिले हप्तामा ८ वटा मात्र फ्लाइट आउने गरेको नागरिक उड्यान प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले बताए ।
एक वर्षमा २० लाख पर्यटक ल्याउन एक दिनमा ५ हजार ४८० पर्यटक आउनु पर्नेछ । २०२० को उद्घाटन कै दिन हवाई मार्गबाटै ५ हजार ३९३ जना विदेशी पर्यटक आएकाले पहिलो दिनमा लक्ष्य अनुसारकै पर्यटक भित्रिएको विभागले दाबी गरेको थियो । तर, त्यो दाबी १ महिना बित्न नपाउँदै निरासामा परिणत भएको छ ।
२०१९ अक्टोबर नोभेम्बरमा पनि डेंगुको कारण नेपालमा त्रास फैलिएको थियो डेंगुको कारण सोचेको जस्तो पर्यटक नेपाल भित्र्याउन नसकेको गुनासो आएको थियो । २०१८ को तुलनामा २०१९ मा १० प्रतिशत पर्यटक बढ्ने आशा पर्यटन बोर्डले राखेको थियो तर त्यो आशा पनि सफल हुन सकेको थिएन ।
नेपाल भ्रमण वर्ष २०२० सुरु हुनु भन्दा एक दिन अघि ३१ डिसेम्बर २०१९ सम्म नेपालमा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटक भित्रिएका छन् । सन् २०१९ मा नेपाल भित्रिएका पर्यटकको संख्या सन् २०१८ को तुलनामा २.०५ प्रतिशतले बढी हो । २०१८ मा ११ लाख ७३ हजार ७२ पर्यटक नेपाल आएका थिए ।
अघिल्लो वर्षको तुलनामा झिनो संख्यामा मात्रै पर्यटक आगमन बढेपछि भ्रमण वर्षमा २० लाख पर्यटक ल्याउन थप कठिनाई देखिएको हो । २०१९ मा आएका पर्यटकको संख्याले भ्रमण वर्षलाई निराशा बनाएको थियो भने हालसालै फैलिएको कोरोना भाइरसले थप निरासा बनाएको छ ।
२०१९ मा कुन देशबाट कति पर्यटक आए
सन् २०१९ मा सबैभन्दा धेरै पर्यटक दक्षिणी देश भारतबाट आएका छन् । २ लाख ५४ हजार १५० जना भारतीय पर्यटक नेपाल आएका छन् । त्यसपछि सबैभन्दा धेरै पर्यटक पठाउने देशको दोस्रो सूचीमा छ उत्तरी छिमेकी देश चीन । २०१९ मा १ लाख ६८ हजार ५४३ जना चीनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अमेरिकाबाट ९३ हजार २१८ जना र बेलायतबाट ६१ हजार १४४ जनाले नेपाल भ्रमण गरेका छन् । सबैभन्दा धेरै पर्यटक आएका देशको पाँचौ नम्बर श्रीलङ्का रहेको छ । श्रीलङ्काबाट ५५ हजार ८६९ जना श्रीलङ्काली नागरिकले नेपाल भ्रमण गरेका छन् ।
थाइल्याण्डबाट ४१ हजार ४५३ जनाले नेपाल भ्रमण गर्दा ३८ हजार ९७२ जना अष्ट्रेलियाली नागरिकले नेपालको भ्रमण गरेका छन् । जर्मनीबाट ३६ हजार ६४१, म्यानमारबाट ३६ हजार २७४ र फ्रान्सबाट ३० हजार ६३६ जनाले नेपाल भ्रमण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस