
चितवन । नेपाल टेलिकमको एफटीटीएच सेवा लिने ग्राहकहरुलाई एक सय मिटरसम्म फाइबर र ३ महिनाको लागि भ्वाइस सेवा समेत निःशुल्क उपलब्ध हुने भएको छ । त्यसैगरी ३ महिना वा सो भन्दा बढी अवधिको लागि एकमुष्ट एफटीटीएच सेवा लिने सेवाग्राहीलाई CPE निःशुल्क उपलब्ध हुनेछ ।
नेपाल टेलिकमले एफटीटीएच अन्तर्गत ब्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराइरहेको छ । ब्यक्तिगत तर्फ ८ एमबीपीएस, १८ एमबीपीएस, ३५ एमबीपीएस र ५५ एमबीपीएसका प्याकेज उपलब्ध छन् । त्यसैगरी कर्पोरेटतर्फ १० एमबीपीएस र २० एमबीपीएसको प्याकेज उपलब्ध छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले मंगलबार चितवनको सौराहामा नेपाल टेलिकमको एफटीटीएच सेवाको औपचारिक शुभारम्भ गरेका थिए । दूरसञ्चार कार्यालय सौराहामा आयोजित सो कार्यक्रममा मन्त्री बस्कोटालेले एफटीटीएच सेवामार्फत उपलब्ध भ्वाइस सुविधा प्रयोग गरी रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई टेलिफोन कल गरी सेवाको औपचारिक शुभारम्भ गरे ।
उक्त कार्यक्रममा बोल्दै माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले यो वर्ष धेरै आयोजनाहरु कार्यान्वयनको क्रममा रहेकाले नेपाल टेलिकमका लागि समृद्धिको वर्ष हुने बताए । उनले सरकारको डिजिटल नेपालको लक्ष्यलाई साकार बनाउनका लागि कम्पनीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने र कम नाफा हुने स्थानमा समेत कम्पनीका सेवा सुविधा उपलब्ध गराउनु पर्ने बताए ।
सो शुभारम्भ कार्यक्रमका अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सरकारको सामाजिक, आर्थिक, शैक्षिक, प्राविधिक आदि क्षेत्रका नीतिलाई साकार बनाउन कम्पनीले पहल गरिरहेको र आगामी दिनमा समेत यो क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्दै ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको पहुँच पुर्याउनका लागि सदैव अग्रणी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।
सोही अवसरमा नेपाल टेलिकम, वीरगन्ज क्षेत्रीय निर्देशनालयका निर्देशक अमलेन्दु नारायण सिंहले सेवालाई चुस्त दुरुस्त रुपमा वितरण गर्ने प्रतिबद्धता जाहेर गरे ।
सो अवसरमा चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत, नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत मटुक आनन्द र्वैद्य लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।
सौराहामा हाल जडित एफटीटीएचको क्षमता १ हजार २४ लाइनको रहेको छ र निकट भविष्यमा आवश्यकता बमोजिम क्षमता अभिवृद्धि गरी वितरण गर्ने कार्यक्रम रहेको छ । हाललाई यो सुविधा सौराहाको हात्तिचोकदेखि ठमेल बजार क्षेत्रसम्म, भरतपुर महानगरपालिका अन्तर्गत वडा नम्बर २ र ३ को नारायणगढ बजार क्षेत्र तथा वडा नम्बर १० का क्षेत्रहरुमा उपलब्ध गराइने छ ।
यस्तै बछ्यौली र ब्रिडिङ सेन्टरमा एक महिनाभित्र उपलब्ध गराइने छ । निकट भविष्यमा भरतपुर महानगरपालिका वडा नम्बर ११ र १२, गैडाकोट नगरपालिका र टाँडी बजार क्षेत्रमा समेत एफटीटीएच सेवा उपलब्ध गराउने योजना रहेको दूरसञ्चार कार्यालय भरतपुरका प्रमुख दीपक कुमारले जानकारी दिए ।
नेपाल टेलिकमले मुलुकका विभिन्न शहरी क्षेत्रमा एफटीटीएच सेवाको वृहत विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणका साथै सेवा वितरण गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस