aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ ।

भ्यूटावर निर्माण अधुरै

  • रासस
    रासस
  • बुधबार, ०५ मंसिर २०७५
भ्यूटावर निर्माण अधुरै

बेत्रावती, मंसिर  ५ ।  नुवाकोटको विदुर नगरपालिका–२ महामण्डलस्थित कालिकाकोटमा भ्यूटावर एवं ‘हरियाली पार्क’ निर्माण कार्य अधुरै रहेको छ । स्थानीयवासीले रकम हिनामिना गरेको आरोप लगाएपछि आर्थिक वर्ष २०६८/६९ मा निर्माण थालिएको सो कार्य हालसम्म बन्द रहेको छ ।

नुवाकोटको नामाकरण गरिएका नौ कोटमध्ये १ नं कालिकाकोटमा निर्माण शुरु गरिएको ३३ फिट अग्लो भ्यूटावर बनाउन छुट्याएको रकमबारे नगरपालिका, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच विवाद भएको हो । हालसम्म सो बारेमा सम्झौता हुन नसकेको विदुर नगरपालिका–२ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए ।

तत्कालीन स्थानीय विकास मन्त्रालयअन्तर्गतको जगेडाकोष र उपभोक्ताको साझेदारी अनुसार भ्यूटावर निर्माण थालिए पनि तीनै पक्षबीच सहमति नजुट्दा काम रोकिएको हो । कोषको जनसहभागितामा आधारित बजेट कार्यक्रम मार्फत नगरपालिकाले रु २१ लाख ७५ हजार र उपभोक्ता समितिले रु आठ लाख रकम थप गरी निर्माण थालिएको थियो । सो कार्यका लागि उपभोक्ता समितिमा स्थानीय समाजसेवी रामकृष्ण बानियाँ र निर्माण व्यवसायी सूर्यगढी गाउँपालिका–१ लच्याङका बुद्ध तामाङ रहका थिए । उपभोक्ता समिति र निर्माण व्यवसायीले तोकिएको रकम खर्च भएको दाबी गरे पनि नगरपालिकाले टावर निर्माणको काम पारदर्शी ढङ्गले नगरेको भन्दै रु १० लाख ४० हजार मात्र निकासा गरेको थियो । बाँकी रकम अझैसम्म भुक्तानी गरिएको छैन ।

विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले निर्माणको क्रममा व्यवसायीको टावरको संरचना बिगारेको र गुणस्तरीय सामग्री प्रयोग नगरेको उजुरी आएपछि रकम निकासा रोकेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस