
काठमाडौं । कारोना भाइरस(कोभिड–१९) का कारण आन्तरिक हवाई उडानका वायुसेवालाई ४ अर्ब रुपैयाँ नोक्सान हुने अनुमान गरिएको छ । सन् २०२० को अघिल्लो दुई महिना जनवरी र फेबु्रअरीमा विदेशी पर्यटक आगमनमा करिब ४० प्रतिशत गिरावट आएका कारण यस्तो असर पर्ने देखिएको हो ।
वायुसेवा सञ्चालक संघले शुक्रबार जारी गरेको एक प्रेस विज्ञप्तीमा आगामी पर्यटकीय सिजनसम्म बुकिङ रद्द हुन थालिसकेकोले आन्तरिक वायुसेवामा पर्ने प्रभाव कम्तिमा ६ महीनासम्मको पर्ने उल्लेख गरिएको छ । यो अवधिमा वायुसेवा प्रदायकले बैंकलाई तिर्नुपर्ने व्याज समेत तिर्न नसक्ने देखिएकाले सरकारले सहुलियत दिनुपर्ने माग राखेका छन् ।
साथै संघले रिफाइनान्सको सुविधा मिलाउन पनि सरकारसँग आग्रह गरेको छ । विदेशी संस्थाबाट अमेरिकी डलर तथा नेपाली रुपैयाँमा लिएको ऋणको साँवालाई पुनर्र्तािलकिकरण र पुनःरसंरचना गर्न समेत माग गरेको संघका प्रवक्ता योगराज कँडेल शर्माद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यसका साथै संघले अमेरिकी डलरमा लिएको ऋण रकमको साँवा र ब्याजलाई नेपाली रुपैयाँमा भुक्तानीको व्यवस्था मिलाउनुपर्ने, हवाई इन्धनको मूल्य अभिवृद्धि कर हटाउनु पर्ने, हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनु पर्ने, वायुयानको बीमा शुल्कमा लाग्ने मूल्य अभिबृद्धि करमा पूर्ण छुट पाउनु पर्ने माग वायुसेवा सञ्चालकहरूको छ ।
कर्मचारीको तलव कटौती गर्ने संघको तयारी
संघले कोरोना भाइरस (कोभिड–१९)का कारण कर्मचारीको तलब सुविधामा ५० प्रतिशतसम्म कटौती गर्ने निर्णय समेत गरेका छ । संघमा बिहीबार बसेको बैठकले मासिक २० हजारसम्म पारिश्रमिक पाउने कर्मचारीको तलब कटौती नगर्ने निर्णय गरेको हो ।
संघले मासिक २० हजार भन्दा माथि ३० हजारसम्म मासिक पारिश्रमिक बुझ्ने कर्मचारीको २० प्रतिशत, १ लाखसम्म पारिश्रमिक पाउने कर्मचारीको ४० प्रतिशत र १ लाख भन्दा बढी पारिश्रमिक पाउने कर्मचारीको तलब तथा सुविधा ५० प्रतिशत कटौती गर्ने निर्णय गरेको छ ।
संघले कर्मचारीका लागि हुने खर्च घटाउन समिट एयरका सञ्चालक समिति सदस्य सुमन पाण्डेको अध्यक्षतामा १० सदस्यीय एक उच्चस्तरीय समिति गठन गरेको छ । समितिले वायुसेवा कम्पनीमा कार्यरत कर्मचारीको तलव तथा सुविधा कटौती गर्न सम्बन्धित वायुसेवा कम्पनीसँगको समन्वय गरेर एक साताभित्र सूचना सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस