aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 
मनसुनपछि केबलकार निर्माण कार्य शुरु

चन्द्रागिरीपछि चन्द्रको अर्को केबलकार मौलाकालिमा, साढे दुई अर्ब खर्च लाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ फागुन २०७६
चन्द्रागिरीपछि चन्द्रको अर्को केबलकार मौलाकालिमा, साढे दुई अर्ब खर्च लाग्ने


काठमाडौं । आईएमई गु्रपले चितवन गैंडाकोटको मौलाकालीमा केबलकार सेवा सञ्चालन गर्ने भएको छ । चन्द्रागिरी केबलकार सञ्चालन गरेर व्यवसायिक सफलता हासिल गरिसकेका व्यवसायी चन्द्रप्रसाद ढकालले उक्त सेवा सञ्चालन गर्न लागेका हुन् । यहि फागुन १५ गते मन्त्रिपरिषद बैठकले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई मौलाकालीमा केवलकार निर्माणका लागि अनुमति दिने निर्णय गरेको हो । सरकारले केबलकार सञ्चालन गर्न जग्गा दिने निर्णय गरिसकेकोले अबको १८/२० महिनामा केबलकार निर्माण सम्पन्न भई अप्रेशनमा आउने ढकालले बताए । 

मौलाकाली केवलकार प्रालिले साढे दुई अर्ब खर्चने गरी उक्त प्रोजेक्ट अघि सारेको हो । आगामी मनसुनपछि केबलकार निर्माण कार्य शुरु गरिने प्रालिका म्यानेजर गोकुल साउदले जानकारी दिए । ‘मनसुन सकिए लगत्तै सम्भवतः असोजदेखि नै हामी केबलकार निर्माण कार्य अघि बढाउँछौ,’ उनले भने ‘सबैभन्दा ठूलो समस्या भनेको सरकारी जग्गा प्राप्ती गर्नु हो, जुन हामीले पाइसकेका छौं, निर्माण कार्य शुरु भएको १ वर्षमै केबलकार सञ्चालनमा आउँछ ।’  विश्व बजारमा पछिल्लो समय चलेका नवीनतम प्रविधिको प्रयोग गरी परियोजना निर्माण गर्न लागिएको हो । 

सरकारले मौलाकाली केवलकार आयोजनाको टावर बनाउन सामुदायिक वन र मौलाकाली धार्मिक वन समेत गरेर कुल जम्मा २.८२ हेक्टर जग्गा प्रयोग गर्न दिने अनुमति दिइसकेको छ । फागुन १५ गते बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारी जग्गा निजी कम्पनीले प्रयोग गरे वापत परियोजनाले आफूले उपभोग गरे बराबरको जमिन किनेर सरकारलाई हस्तान्तरण गर्नुपर्छ । 

सरकारी जग्गाको सट्टा सरकारलाई उपलब्ध गराउने जग्गा राष्ट्रिय वनसँग जोडिएको हुनु पर्नेछ । साथै एक रुख काटे वापत १० वटा विरुवा रोपेर ५ वर्षसम्म हेरविचार पनि गर्नुपर्ने हुन्छ,’साउदले भने । मौलाकाली केबलकार सञ्चालन गर्न करिब एक हजार रुख काट्नु पर्ने समेत उनले जानकारी दिए । 

अब सरकारले सम्बन्धित मन्त्रालय तथा विभागसँग रुख काट्न स्वीकृत लिएर काम शुरु गर्ने तयारी प्रालि गरेको छ । वनक्षेत्र प्रयोग गर्न नदिने सरकारी व्यवस्थाका कारण केबलकार निर्माण कार्य अघि बढ्न सकेको थिएन । सरकारको यो निर्णयले अब केबलकार निर्माण कार्य अघि बढाउन बाटो खुला भएको छ ।

आईएमई समूहको लगानीमा निर्माण हुन लागेको उक्त केवलकार परियोजना दोस्रो हो । आईएमई गु्रपले यस अघि काठमाडौंको चन्द्रागिरीमा यस्तो सेवा शुरु गरेको थियो । उक्त परियोजन३ अर्बको लागतमा निर्माण भएको हो । 

यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार सञ्चालनमा आइसकेको छ । गैंडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमूना हुने गरी अघि बढाउने प्रतिबद्धता ढकालले गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस