
चरनमा बाँधेको गोरुको आक्रमणले झापामा मंगलबार एक जनाको घटनास्थलमै ज्यान गएको छ। साविकको दुवागढी १ हाल मेचीनगर १४ का ५० वर्षीय विष्णु श्रेष्ठको गोरुले हान्दा घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए।
नजिकैको हडिया खोलाको बगरमा चरनमा बाँधेको गोरुलाई लिन अपरान्ह ४ बजे तिर श्रेष्ठ त्यसतर्फ गएका थिए। बाँधेको गोरुको किलो उखेल्ने क्रममा गोरुले आएर हान्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय काकडभिट्टाका प्रहरी नायब उपरीक्षक महेश थापाले बताएका छन्।
श्रेष्ठलाई मारेर गोरु सिधै घरतर्फ गएको थियो। गोरुको सिङ रक्ताम्मे देखेपछि परिवारका अन्य सदस्य गोरु बाँधेको ठाउँमा पुग्दा श्रेष्ठको मृत्यु भइसकेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस