
काठमाडौं । विश्वव्यापी रुपमा कोरोनाको प्रभाव बढ्दै गएपछि देशमा सञ्चालित सबै हेलिकप्टर र आन्तरिक उडानका ६ वटा जहाज समेत ग्राउण्डेड हुने भएको छ । हाल नेपालमा १२ वटा साना जहाज र ३३ वटा हेलिकप्टर सञ्चालनमा छन् । सोमध्ये ६ वटामात्र सञ्चालन रहने छन् ।
सबै हेलिकप्टर र ५० प्रतिशत साना जहाज १९ चैत २०७६ बाट भूमिस्थ (ग्राउन्डेड) गर्ने निर्णय भएको वायुसेवा संचालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए । प्रतिबद्धता गरिसकेको उडान बाहेक नयाँ उडान बन्द गर्ने उनले बताए । क्राइसिस म्यानेजमेन्ट गर्न उडान सेवा बन्द गर्न लागिएको हो,’ उनले भने ‘आन्तरिक उडानमा समेत यात्रु कम हुन थालेपछि हामी यो निर्णय गर्न वाध्य भयौं ।’
संघको बिहीबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाबाट नेपाली तथा विदेशी मुद्रामा लिएको सम्पूर्ण ऋणको कम्तिमा एक वर्षको ब्याज मिनाहा गर्न माग पनि गरेको छ । वायुसेवा कम्पनीले लिएको ऋणको किस्ता एक वर्षलाई स्थगित गरी पुनर्तालिकीकरण गर्नुपर्ने, विदेशी मुद्रामा लिएको ऋण नेपाली रुपैयाँमा भुक्तान गर्न पाउने माग समेत गरेका छन् ।
बैकबाट सहुलियत ऋण पाउनुपर्ने, वायुयान कम्पनीलाई कोरोना भाइसरका कारण पुगेको क्षतिबाट पुनर्जीवित गर्न सरकारबाट विभिन्न शीर्षकमा सहुलियत दिनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस