aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

होटल व्यवसायमा मासिक दुई खर्बको नोक्सान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ चैत्र २०७६
होटल व्यवसायमा मासिक दुई खर्बको नोक्सान

काठमाडौं । कोरोनाका कारण देशमा सञ्चालित पाँच तारेदेखि साना होटलसम्म  बन्द हुने अवस्थामा पुगेपछि यस क्षेत्रमा मासिक २ खर्ब नोक्सान हुने देखिएको छ । होटल बन्द भएपछि यस क्षेत्रमा मासिक २ खर्ब नोक्सान पर्ने होटल एशोसिएसन अफ नेपाल (हान) की अध्यक्ष सिर्जना राणाले जानकारी दिइन् ।

‘देशभरी सञ्चालनमा रहेको होटलहरू बन्द हुँदा मासिक २ खर्ब नोक्सान पर्छ,’ उनले भनिन् ‘ अब हामी होटल चलाउन सक्ने अवस्थामा छैनौ ।’ सरकारले भ्रमण वर्षको तयारी गरिरहँदा १२ लाख पहुना राख्न सक्ने क्षमतालाई बढाएर २५ लाख पुर्याएका थियौं । ‘भ्रमण वर्षका लागि पूर्वाधार तयार पारेर २५ लाख पर्यटकलाई राख्न सक्ने गरी होटलको क्षमता विस्तार गरियो,’ उनले भनिन् ‘ सन् २०१९ मा क्षमताको आधामात्र उपयोगमा आए ।’ अब अहिले त त्यो अवस्था पनि रहेन, होटल सबै बन्द गर्नुपर्ने अवस्था आयो ।’

सरकारले सन् २०२० मा २० लाख पर्यटन भित्र्याउने लक्ष्य लिएपछि व्यवसायीहरूले पछिल्लो समय होटल व्यवसायमा क्षमता विस्तार गरेका थिए  । कोरोनाका कारण यति बेला सबै होटल सुनशान भइसकेका छन् । होटल चल्न सक्ने अवस्था छैन,’ उनले भनिन् ‘अब होटलहरू पुरै बन्द गछौं । प्रधानमन्त्री केपी ओलीको सम्बोधन कुरिरहेका थियौं ।’

हिजोसम्म जिनेतिनो केही होटल सञ्चालन गर्न सकिन्छ कि भन्ने थियो, तर, आजदेखि त्यो पनि सम्भावना रहेन,’ उनले भनिन् ‘अब अर्को निर्णय नगरेसम्म होटलहरू सञ्चालनमा आउँदैन ।’ सेक्युरिटीका लागि आवश्यक कर्मचारी बाहेक अन्य सबैलाई विदा दिइसकेका छौं ।’ हाल नेपालमा १५ वटा पाँच तारे, १३ वटा चार तारे, ३३ वटा तिन तारे, ४३ वटा २ तारे र ३५ वटा एक तारे होटल रहेका छन् ।

सरकारले भ्रमण वर्ष मनाउँदै गर्दा होटलहरू खुल्ने क्रम पनि बढ्यो । तर, अहिले व्यवसाय विस्तार भएपछि व्यवसायीहरूले बन्द गर्नुपर्ने विपद आइलाग्यो,’ उनले भनिन् । त्यसै पनि अप्रिलसम्मका लागि सबै होटलको अकुपेन्सी रद्द भइसकेका थियो । अब खोल्न सक्ने अवस्था नै छैन । कोरोना भाइरसका कारण होटलहरूले कर्मचारी पाल्न नसक्ने अवस्था पुगेका छन् । उनीहरूले आफ्ना कर्मचारीलाई विदा दिइसकेका छन् । 

यस्ता छन् व्यवसायीका माग

कोरोनाका कारण होटल बन्द गर्नुपर्ने अवस्था आएपछि होटल व्यवसायीले सरकारले सामाजिक सुरक्षा कोषबाट कर्मचारीको आधा तलब व्यहोरिदिनुपर्ने माग गरेका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना संक्रमण होटल तथा पर्यटन व्यवसाय बन्द गर्नु परेको भन्दै यो विपदमा सरकारलाई सहयोग गर्न माग गरेका हुन् । 

होटल तथा पर्यटन क्षेत्रमा कार्यरत कर्मचारीको ५० प्रतिशत तलब सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराइदिन सरकारलाई यस अघि नै अनुरोध गरिसकेका छन् । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, वागमती प्रदेशले होटल तथा पर्यटन व्यवसायमा कार्यरत कर्मचारीले पाउँदै आएको मासिक तलब सुविधामध्ये ५० प्रतिशत व्यवसायी आफैले र बाँकी ५० प्रतिशत तलब सामाजिक सुरक्षा कोषमार्फत उपलब्ध गराउने व्यवस्था गरिदिन भनेका छन् । 

बैंकको ऋण तिर्न सहुलियत

होटल तथा पर्यटन व्यवसायीले कर्मचारीको तलबसहित बैंकसँग लिएको ऋण तिर्न  पनि सहुलियत दिन माग गरेका छन् । व्यवसायीले घर बहालमा ५० प्रतिशत छुटको माग गर्दै होटल तथा पर्यटन व्यवसायमा सरकारका तर्फबाट लगाइएका सम्पती कर, व्यवसाय कर, मूल्य अभिवृद्धि कर तथा विभिन्न प्रकारका राजश्वमा समेत छुट माग गरेका हुन् । उनीहरुले सरकारसँग पानी, विजुलीलगायतका महशुलमा पनि ५० प्रतिशत छुट माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस