
काठमाडौं । सरकारले प्रतिबन्ध लगाइएको देशबाट नेपाल तर्फ आइरहेको २ व्वटा बिमानलाई आकाशबाटै फर्काईदिएको छ । कोरोना प्रभावित देशकै तीन जना नागरिकको यात्रा भएको खबर पाएसँगै उक्त बिमानलाई नेपालमा अवतरण गर्न अनुमति नदिई फर्काइएको हो ।
यसैगरि, सरकारको निर्देशन उल्लंघन गर्दै बिभिन्न देशबाट आएका ६४ नेपाली नागरिकलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्याइएको छ ।
दुबई, कतार, मलेसिया, जर्मन , जापानलगायत बिभिन्न देशबाट आएका नेपाली नागरिकहरुलाई भक्तपुरको खरिपाटीस्थित नेपाल बिधुत प्रधिकरण तालिम केन्द्रमा रहेको क्वारेन्टाइनमा राख्न खरिपाटी पुर्याइएको हो ।
सरकारको निर्देशन उल्लंघन गर्दै नेपाल प्रवेश गरेकाले क्वारेन्टाइनमा रहँदाको खर्च उनीहरु स्वयंले व्यहोर्नु पर्ने जनाइएको छ । कोरोना भाइरसको उच्च जोखिम रहेको बेला बिभिन्न मुलुकबाट भारत र थाइल्याण्ड हुँदै ६२ नेपाली नागरिक काठमाडौं आइपुगेका थिए । उनीहरु एयर इण्डिया र थाइ एयरलाइन्सको विमानमार्फत काठमाडौं आएका हुन् ।
उनीहरुलाई १४ दिनको लागि क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले गरेको छ । ४ महिलामा एक ७६ बर्षीय बृद्धा लगायत अन्य पुरुषहरु रहेको भक्तपुर प्रहरी प्रमुख एसपी सबिन प्रधानले जानकारी दिए ।
उनीहरुलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार साँझ करिव ६ बजे भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुयाइएको हो । उनीहरुलाई त्यहाँ पुर्याउन साझा बसले दुइ वटा बस निशुल्क उपलब्ध गराएको पनि एसपी प्रधानले जानकारी दिए । यस अघि चीनको वुहानमा ल्याइएका नेपालीलाई पनि यही क्वारेन्टाइनमा १४ दिन राखिएको थियो ।
प्रतिक्रिया दिनुहोस