
काठमाडौं, जेठ ३ । यसपटकको सिजनमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेको संख्या डेढ सयभन्दा बढी पुगेको छ ।मंगलबारबाट शुरु भएको आरोहणमा तीन दिनमा सो आरोहण भएको हो ।
पहिलो दिन ८ जना नेपालीले आरोहण गरी जारी सिजन शुररु भएको थियो । बुधबार ५० जना र बिहीबार एक सय जना आरोहीले सगरमाथाको आरोहण गरेकोे पर्यटन विभागले जनाएको छ ।
विभागका अनुसार शुक्रबार, शनिबार, आइतबार मौसम प्रतिकूलता हुने सम्भावनाका कारण कुनै पनि आरोहण नहुने छैन ।
मंगलबार दावा नोर्बु शेर्पा, मिङदोर्ची शेर्पा, आङ फुर्वा शेर्पा, सिद्धबहादुर तामाङ, पासदावा शेर्पा, दोर्जी ग्यालजेन शेर्पा, पासाङ दावा शेर्पा,साङबु भोटेले आरोहण गरी बाटो बनाउँदै आरोहण गरेका थिए ।
मौसमको सुधारको प्रतिक्षामा ३ सयभन्दा बढी सगरमाथा आरोहीसहित, उनीहरुको सहयोगी र सम्पर्क अधिकारी गरी हजार जनाभन्दा बढी व्यक्ति अहिले बेस क्याम्पमा रहेको बताइएको छ । बुधबार २३औं पटक सगरमाथा आरोहणमा आरोही कामिरीता शेर्पाले विश्व कीर्तिमान कायम गरेका थिए । ४९ वर्षे शेर्पाले गत वर्ष जेठ २ गते बुधबारकै दिन २२औं पटक सगरमाथा आरोहण गरेका थिए ।
यस सिजनमा मकालु हिमालमा ३२ जना, लोत्से हिमालमा १३ जना, कञ्चजंगा हिमालमा ४३ जनाले सफल आरोहण गरिसकेका छन् ।
जारी सिजनमा ३० हिमालको लागि १ सय १० समूहका ८ सय ५१ जनाले हिमाल आरोहण गर्नको लागि पर्यटन विभागबाट अनुमति लिएका छन् । जसमा सगरमाथामा १३, कञ्चजंगामा २, ग्यालेजेन पिकमा ६ नेपालीले आरोहणको लागि अनुमति लिएका छन् । सगरमाथा आरोहणको लागि भने १३ नेपाली र ३ सय ६६ विदेशीले अनुमति लिएका छन् ।
३० हिमालका राजस्व दस्तुरबराबर ४९ करोड ४३ लाख रुपियाँ जम्मा भएको विभागले जनाएको छ । जसमध्ये ४५ करोड सगरमाथा आरोहणको लागि आरोहीले बुझाएको दस्तुर रहेको छ । सगरमाथा आरोहणका लागि विदेशीले सगरमाथा आरोहण अनुमति लिन प्रतिव्यक्ति ११ हजार अमेरिकन डलर रोयल्टी तिनुपर्ने व्यवस्था छ । नेपालीको हकमा प्रतिव्यक्ति ७५ हजार रुपैयाँ रोयल्टी तिर्नुपर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस