
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बिहिबार त्रिशुली थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्न रसुवा गएका थिए। फर्कने क्रममा उनी नुवाकोटको पहिरेबेसीमा रोकिए।
पहिरेबेसीमा त्रिशुली थ्री ए बी हब सब स्टेशन निर्माण भैरहेको छ। तर पछिल्ला दुई दिनदेखि काम रोकिएको थियो। गाडी रोक्न लगाएर कुलमान आयोजनास्थलमा पुगे।
कुलमान आएको थाहा भएपछि स्थानीय पनि जम्मा भए।
नदीको बगरमा बनिरहेको सब स्टेशनमा जग्गाको मुआब्जा विवाद थिएन। नदी कटानबाट स्टेशनलाई जोगाउन वाल लगाउने काम भैराखेको थियो। काम रोकिएको देखेपछि कुलमानले सोधखो गरे। नुवाकोटतर्फ बनिरहेको आयोजनामा रसुवातर्फको स्थानीयको नाममा अवरोध भएको थाहा पाएपछि कुलमान स्थानीयसँग रिसाए।
उनले आयोजना अवरुद्ध गरे कानुनी उपचार खोज्ने चेतावनी दिए।
आयोजनाले ठेक्का विवादमा स्थानीय शिवप्रसाद भट्टराईले स्थानीयलाई भड्काएको आरोप लगाएको छ। साथै काममा अवरोध हुन सक्ने भन्दै रसुवा र नुवाकोट दुबै जिल्ला प्रशासन कार्यालय र प्रहरीमा किटानी जाहेरी दिएको छ।
किटानी जाहेरीपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीले आयोजना स्थलमा सुरक्षा दिन थालेका छन्। त्रिशुलीको थ्री बी हब निर्माण विद्युत प्राधिकरणलाई आउँदो पुसको मध्य भित्रै सक्नुपर्ने दबाब छ।
सब स्टेशन निर्माण पूरा नभए प्राधिकरणले दैनिक करोडौं रकम जरीवाना तिर्नुपर्नेछ। १११ मेगावाटको रसुवागढी, ४२ मेगावाटको सान्जेन, १४ माथिल्लो सान्जेनको विद्युत यहि सब स्टेशन हुँदै राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। आयोजना निर्माण पुरा हुँदा समेत प्राधिकरणले स्टेशन र प्रशारण लाइन नबनाए क्षतिपूर्ति तिर्नुपर्छ।
त्यसैले कुलमान कुनै पनि हालतमा उक्त सब स्टेशनको काम रोक्न चाहँदैनन्।
प्रतिक्रिया दिनुहोस