aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

कोरोना कहरः इटाली र स्पेनमा एकैदिन १४ सय बढीको मृत्यु, संक्रमितको संख्या अमेरिकामा धेरै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १४ चैत्र २०७६
कोरोना कहरः इटाली र स्पेनमा एकैदिन १४ सय बढीको मृत्यु, संक्रमितको संख्या अमेरिकामा धेरै

काडमाडौं । कोरोना भाइरस (कोभिड–१९) को कारण पछिल्लो २४ घण्टामा इटाली र स्पेनमा १४ सयभन्दा बढी मानिसको ज्यान गएको छ । वर्ल्डओमिटरका अनुसार इटालीमा एकैदिन ७१२ जनाले ज्यान गुमाएका छन् । यससँगै इटालीमा मृत्यु हुनेको संख्या पनि ८ हजार २१५ पुगेको छ । त्यस्तै संक्रमितको संख्या पनि बिहीबार इटालीमा ८ हजारभन्दा बढीले बढेको छ । यससँगै इटालीमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार नाघेको छ ।

त्यस्तै स्पेनमा पनि बिहीबार एकैदिन ७१८ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । यससँगै स्पेनमा पनि ज्यान गुमाउनेको संख्या ४ हजार ३६५ पुगेको छ । बिहीबार स्पेनमा नयाँ संक्रमित पनि ८ हजारभन्दा बढी देखिएका छन् । स्पेनमा समग्र संक्रमितको संख्या पनि ५७ हजार नाघेको छ ।

अन्य यूरोपेली मुलुकमा फ्रान्समा बिहीबार ३६५ जनाले ज्यान गएको छ । फ्रान्समा समग्र संक्रमितको संख्या २९ हजार नाघेको छ । बेलायतमा पनि बिहीबार ११५ जना मानिसले ज्यान गुमाएका छन् । बेलायतमा पनि ११ हजारभन्दा बढी मानिसमा यो भाइरसको संक्रमण देखिएको छ ।

विश्वभर अहिलेसम्म भाइरसबाट संक्रमित हुनेको संख्या ५ लाख नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि २४ हजार नाघेको छ ।

त्यस्तै, विश्वभर फैलिएको कोरोना भाइरसका संक्रमितको संख्यामा अब अमेरिका अगाडि भएको छ । अमेरिकामा शुक्रबार विहान कोरोना संक्रमितको संख्या ८३५०० पुगेको छ । यो अहिलेसम्म कुनै पनि देशमा सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो ।  

संक्रमितको संख्या धेरै भए पनि कोरोनाकै कारण ज्यान गुमाउने संख्या चाहिँ इटालीको धेरै छ । 

प्रतिक्रिया दिनुहोस