
काठमाडौं । सरकारले ल्याउने भनेको विशेष राहत प्याकेज आज नआउने भएको छ । सरकारले लकडाउनको अवधि बढाउने घोषणा गर्दै त्यस्तो प्याकेज घोषणा गर्ने भनिए पनि आज घोषणा नहुने भएको हो ।
यो सम्बन्धमा कस्तो राहत कार्यक्रम ल्याउने भन्ने सम्बन्धमा अर्थ मन्त्रालय निष्कर्षमा पुग्न नसकेपछि यो योजना पर धकेलिएको हो ।
कोरोना रोकथाम उच्चस्तरीय समितिको आज बसेको बैठकपछि पत्रकारसँग कुरा गर्दै समितिका प्रवक्ता नारायण विडारीले ‘लकडाउन’को अवधि बढाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको जानकारी दिए ।
उक्त सिफारिसलाई बेलुकी बस्ने मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नेछ । राहत प्याकेजको सम्बन्धमा भने अर्थ मन्त्रालय छलफलमै रहेको भन्दै केही दिन पछि मात्रै त्यस्तो प्याकेज आउने उनको भनाई थियो ।
उच्चस्तरीय समितिको आजको बैठकले सबै प्रदेशमा एक एक हजार थान पीपीई पठाउने, तोकिएको मापदण्डकै क्वारेन्टाइन बनाउने र यसका लागि सुरक्षाकर्मीको सहयोग गर्ने निर्णय गरेको छ ।
चीनबाट हिजो ल्याइएका पीसीआर मेसिनलाई एउटा प्रदेश २, प्रदेश ५, कर्णली प्रदेश र सुदुरपश्चिम प्रदेशमा एक एक वटा पठाउने र एउटा मेसिन जगेडास्वरुप काठमाडौंमै राख्ने निर्णय समेत गरिएको छ ।
त्यस्तै भारतबाट नेपाल आएर दशगजामा रोकिएका नेपालीलाई नजिकको स्थानीय तह र प्रदेश सरकारको जिम्मेवारीमा अनिवार्य रुपमा क्वारेन्टाइनमा पठाउनेगरी नेपाल भित्रन दिने निर्णय समेत समितिले गरेको छ । त्यस्तै, क्वारेन्टाइन बस्ने अवधि पूरा नभई भाग्ने वा रोग लागेर पनि संक्रमणको सूचना नदिनेलाई संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने निर्णय भएको समेत प्रवक्ता बिडारीले बताए ।
त्यस्तै, समितिले नेपाल आउने हवाई उडानलाई अप्रिल १५ सम्म उडान निषेध गर्ने निर्णय समेत गरिसकेको छ ।
त्यस्तै, विदेशमा रहेका विद्यार्थीहरुलाई आवश्यक खर्च पठाउने व्यवस्था गर्ने समेत समितिले निर्णय गरेको छ । तर यो अवधिमा उनीहरुलाई नेपाल नआएर जहाँ छन्, त्यहीँ सुरक्षित रुपमा बस्न भनिएको छ ।
प्रतिक्रिया दिनुहोस