
उदयपुर । सरकारले खडा गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) उदयपुरले ६ लाख बढि सहयोग गर्ने भएको छ । कोषमा एकमुष्ट २ लाख, २५ हजार ५ सय २५ रुपैयाँ सहयोग गर्ने र जिल्लाको आठ पालिकाहरुलाई ५० हजारको दरले ४ लाख रुपैयाँ सरयोग गर्ने भएको हो ।
डिभिजन वन कार्यलय उदयपुर, डिभिजन वन कार्यलय त्रिवेणी र वन पैदावार व्यवसायीको प्रतिनिधिसहित मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको फेकोफनका अध्यक्ष कुशलबाबु बस्नेतले जानकारी दिए ।
अध्यक्ष बस्नेतका अनुसार जिल्लाको ७५ वटै वडा कार्यालय, गाउँपालिका र नगरपालिकासंग समन्वय गरेर कोरोना भाइरस रोकथाममा सक्रिय हुने र मातहतका ३५० वटै बन समुहहरु सबैलाई आव्हान गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वन समुहहरुको सयभन्दा बढि भवनहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न दिने भएको छ । उपभोक्ताहरुलाई सरसफाईका लागि साबुन, सेनिटाइजर जस्ता खरिद गरी वितरण गर्ने निर्णय पनि गरेको अध्यक्ष बस्नेतले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस